जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रुवी भ्यालीमा वन फडानी, विकास आयोजनाको नाममा करोडौँको चलखेल

धादिङ ।
धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवी भ्यालीमा करोडौं रुपैयाँको वन फडानी भएको छ ।सुपर सुपर आँखुखोला जलविद्युत आयोजनाले बाटो बनाउनका लागि वन फडानी गरेको हो ।
आयोजनाले प्रदेश सांसद जगत सिंखडा र गाउँपालिका अध्यक्ष चेरूङ तामाङलाई आर्थिक प्रलोभनमा पारी वन फडानी गरेको हो । निर्माणाधीन आयोजना २५ दशमल ४ मेगावाटको हो ।
आयोजनाले रुवी भ्याली गाउँपालिकाको वडा नम्बर ४ र ६ मा बाटो बनाउने नाममा करिव एक हजार रुख काटेको हो । विकास कार्यका लागि रुख काटन सकिने भए पनि त्यसको निश्चित प्रक्रिया रहेको छ ।
वन ऐन तथा निमयावलीले विकास आयोजनाका क्रममा वन फडानी गर्नु पर्ने भएमा त्यसबापत प्रति रुख बराबर २५ वटा विरुवा रोप्नुपर्ने व्यवस्था गरेको छ । साथै रुख रोप्न आवश्यक जग्गाको प्रबन्ध गर्नुपर्ने र पाँच वर्षसम्म ती रुख हुर्काउन तथा सम्भार गर्नुपर्ने कानुनी प्रावधान छ । यदि यसो नगरेमा जग्गा खरिद, वृक्षारोपण र तिनलाई पाँच वर्षसम्म हुर्काउन लाग्ने रकम आयोजनाले उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान रहेको छ ।
आयोजनामा वैदेशिक रोजगार व्यवासयी रघु पुरीलगायत संचालक छन् । लामो समयसम्म विश्वराज कँडेल यसको प्रबन्ध निर्देशक रहे पनि पछिल्लो दिनमा पुरी समूहले उनलाई विस्थापित गरेको छ ।
वन फँडानीमा संचालक पुरीले जिल्ला वन कार्यालय धादिङलाई समेत प्रभावमा पारेको आरोप लागेको छ ।
करोडौंको यो चलखेलबारे वन विभाग, वन मन्त्रालय,  राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री कार्यालयमा उजुरी परिसकेको छ ।