जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्वास्थ्य बीमा थप ६ जिल्लामा

जन्मभुमि खबर
काठमाडौँ — नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाँचौ स्वास्थ्य बीमा दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारले थप ६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो ।

बुधबार बाटै स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनेगरी ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा कार्यक्रम सुरु गरिएको छ ।

स्वास्थ्य बीमा सेवालाई नेपाल सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा पनि समावेश गरिएको छ । कार्यक्रम शुभारम्भ गर्दे स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेयश त्रिपाठीले स्वास्थ्य बिमा कार्यक्रमलाई नेपाल सरकारले धेरै नै महत्व दिएको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै कर्मचारी पदाधिकारी लाग्नुपर्नेमा जोड दिए । विद्यमान स्वास्थ्य सेवा प्रणालीका सबै समस्या एकै पटक समाधान गर्न नसकिने भन्दै मन्त्री त्रिपाठीले कार्यक्रमबाट पछाडी फर्कने विकल्प नरहेको बताए ।

मन्त्री त्रिपाठीले स्वास्थ्य बिमामा सहभागी भएका विमितहरुको सेवा सुविधामा हेलचेक्र्याइ नगर्न सचेत गराए । स्वास्थ्य बिमाका विमितहरुलाई दिइने सेवा सुविधालाई बोझको रुपमा नहेर्न उनले चेतावनी नै दिए ।

उनले भने,“अस्पतालले विमितलाई दिने सुविधालाई थप बोझको रुपमा बनाउने प्रयत्न सेवाग्राही संस्थालाई अस्पतालहरुले नगर्नुहोस् । आफ्नो संस्था आफैले सुदृढ गर्ने काममा लाग्नुहोस् । विमितहरु आए पालो दिन सकिएन भनेर पन्छिन मिल्दैन ।”

नेपाल सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्यबीमा कार्यक्रम सुरु गरेको हो । पहिलो कार्यक्रम कैलाली जिल्लाबाट सुरु गरिएको थियो । थप ६ जिल्लामा विस्तार भएसँगै स्वास्थ्यबीमा कार्यक्रम बुधबारबाट ७५ वटा जिल्लामा लागू भएको छ । यो कार्यक्रममा सहभागी भएका विमितहरुले औषधि र उपचार सेवामा सहुलियत पाउनेछन् । ५ जनासम्मको परिवार भएको विमितले प्रतिवर्ष ३ हजार ५ सय रुपैयाँ प्रिमियम शुल्क तिरेमा स्वास्थ्य बीमा कार्यक्रमको सम्पूर्ण सुविधा लिन पाउँछन् । बुधबार थपिएका ६ जिल्ला बाहेक ६९ वटा जिल्लामा करिब ३७ लाख ४२ हजार ६ सय जना बीमा कार्यक्रममा सहभागी भइसकेका छन् ।