जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकीमा डा श्रेष्ठ, कास्कीमा गुरुङ

जन्मभुमि खबर ,
पोखरा ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरामा शनिबार भएको भेलाले डा. ढाकाकुमार श्रेष्ठको सभापतित्वमा गण्डकी प्रदेशस्तरीय तदर्थ समिति गठन गरेको छ । कास्की जिल्ला समितिको सभापति विष्णु गुरुङ एकता चुनिएकी छन् ।

प्रदेश समिति १६ सदस्यीय छ । सदस्यहरुमा अशोक खड्का, विकास भुर्तेल, नवीन केसी, श्याम सुनार, मनीषा थापा, सविता शर्मा, शीतल थापा, चित्रबहादुर थापा, मेघ आले, बोधराज रेग्मी, रुपभागत भण्डारी, विशेष पन्त लगायत छन् ।

भेलाबाट बागलुङ, स्याङ्जा, तनहुँ लगायत जिल्ला समिति पनि गठन गरेको जानकारी प्रदेश सभापति श्रेष्ठले दिए । पोखरा समिति पनि भेलाले गठन गरेको छ । भेलालाई राष्ट्रिय अध्यक्ष लामिछाने लगायतले सम्बोधन गरेका थिए ।

लामिछानेले आफू कफन बाँधेर राजनीतिमा आएको बताए । उनले आफू सिंहदरबारको यात्रामा रहेको हुँदा खबरदारी गरिरहन पनि भने । उनले पुराना नेताहरुलाई आराम गरेर बस्न आग्रह गरे । ‘भो तपाईंको चिन्ताले यो देश कहाँ पुग्यो भन्ने कुरा हामीले देखिसक्यौं । छेउको श्रीलंका पुग्ने सँघारमा छौं भनेर तपाईं नै भन्दै हुनुहुन्छ । भो अब यो तपाईंको वृद्ध शरीरबाट हामी यो देशलाई श्रीलंकातर्फ लग्न चाहँदैनौं,’ उनले भने, ‘तपाईँ आराम गर्नुस्, बरु तपाईंसँग सल्लाह लिन म आफैँ आउँला, सिंहदरबार मलाई जान दिनुस् ।’

देशमा व्यवस्था होइन अवस्था बदल्नुपर्ने खाँचो रहेको उनले आंैल्याए । ‘तपाईं अब मन बदल्नुहोस्, छाप बदल्नुहोस्, हामी देश बदल्ने छौं,’ उनले भने । आफूहरु कुनै वाद बोकेरभन्दा पनि काम गर्न आएको रविको भनाइ थियो । ‘हो मलाई राजनीति आउँदैन, र मलाई राजनीति गर्नु पनि छैन तर, मलाई विदेशमा बेचिएकी नेपाली चेलीलाई नेपाल ल्याउन आउँछ, ठग मानिसलाई जेल कोच्न सक्ने बनाउने नीति बनाउन आउँछ,’ उनले भने, ‘चराले बिस्ट्याउँदा पनि मन्दिरको छतमा रुख उम्रिने उर्वर भूमिबाट बालुवाको भूमिमा पुगेको युवाका लागि सुनौलो भविष्य कोर्न आउँछ र विभिन्न विभेदको पासोमा नक्कली तमसुक बनाएर आम सर्वसाधारणलाई ऋणको पासोमा डुबाउन खोज्नेहरूलाई जेल पु¥याउन आउँछ ।’

लामिछानेले यातायात, मालपोत, सडक र रोजगारको क्षेत्र लथालिंग भएको भन्दै आजसम्म नेतृत्वले किन ठिक गर्न नसकेको बताए ।