जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

युरोकपमा आज अन्तिम ४ खेल हुँदै

युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज  चार खेलहरु हुँदैछन् ।युरोकपमा आज समूह चरणका अन्तिम चार खेलहरु हुने छन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ को २/२ खेलहरु हुनेछन् ।  जारी युरोकपमा १२ टिमले नकआउट चरणमा स्थान बनाईसकेको छ ।समूह ‘ई’ मा रहेको स्पेनले आज राति स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । सेभियामा हुने स्पेन र स्लोभाकियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।स्पेनलाई नकआउट चरणमा प्रवेश गर्नका लागि यस खेल महत्वपूर्ण रहेको छ । स्पेन स्लोभाकियालाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । स्पेन २ खेलमा २ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।स्लोभाकिया पनि स्पेनलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । स्लोभाकिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा स्विडेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।स्विडेन ४ नाक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । स्विडेन नकआउट चरणमा पुगिसकेको छ । तर, पोल्याण्डलाई हराएर स्विडेन समूह विजेता बन्दै अन्तिम १६ मा पुग्ने योजनामा रहेको छ ।पोल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रहेको छ । पोल्याण्डको पनि अर्को चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।
समूह ‘एफ’ अन्तर्गत पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । साविक विजेता पोर्चुगल र फ्रान्सबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।पुस्कास स्टेडियममा पोर्चुगल फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । पोर्चुगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । समूहको शीर्ष स्थानाम रहेको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । पोर्चुगललाई हराएर फ्रान्स समूह विजेता बन्न चाहन्छ ।
यसै समूहको अर्को खेलमा जर्मनीले हंगेरीसँग खेल्नेछ । जर्मनी र हंगेरीबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।जर्मनी २ खेलम ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । हंगेरीलाई हराएर जर्मनी अन्तिम १६ को यात्रा तय गर्न चाहन्छ ।हंगेरी १ अंक जोडेर समूहको पुछारमा रहेको छ । हंगेरी पनि जर्मनीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ ।