जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

यस बर्ष मनसुनका चार महिनामा सबैभन्दा बढी वर्षा पोखरामा

सिन्धुपाल्चोक सदरमुकाम चौतारामा मनसुनका करिब चार महिना मध्यजेठदेखि मध्यअसोजसम्ममा औसत १६ सय ५४ मिलिमिटर वर्षा हुन्छ । यो वर्ष मनसुन सुरु भएलगत्तै असार पहिलो साता सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका क्षेत्रमा आरीघोप्टे वर्षा भयो र त्यसपछि आएको लेदोसहितको बाढीले मेलम्ची बजारसम्मै असर गर्‍यो, धनजनको ठूलो क्षति भयो ।

तर जल तथा मौसम विज्ञान विभागको चार महिनाको मनसुनी वर्षाको तथ्यांक हेर्ने हो भने त्यति धेरै क्षति निम्त्याएको सिन्धुपाल्चोकमा मनसुनी वर्षा सरदरसम्म पुगेको छैन । ‘सिन्धुपाल्चोकमा चार महिनाको वर्षा सरदर नजिक मात्र छ,’ विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले भनिन्, ‘असोज १४ सम्म सिन्धुपाल्चोकमा १६ सय ४२ मिमि मात्र वर्षा भएको छ ।’

यस्तै, पोखराको लुम्लेमा पनि यो वर्ष सरदर नजिक मात्र वर्षा भएको छ । लुम्लेमा चार महिना अवधिमा ४६ सय ६१ मिमि वर्षा हुन्छ । यो वर्षको मनसुनमा लुम्लेमा ४५ सय ९७ मिमि मात्र वर्षा भएको छ । लुम्ले मुलुकको सबभन्दा बढी वर्षा हुने स्थान पनि हो । मनसुनका चार महिनामा सबभन्दा बढी वर्षा पोखरा (विमानस्थल) मा रेकर्ड भएको छ । त्यहाँ भने सरदरभन्दा बढी वर्षा भएको कँडेलले बताइन् । पोखरा विमानस्थल क्षेत्रमा चार महिनामा सरदर ३ हजार ६४ मिमि वर्षा हुन्छ, यो पटक ४२ सय ७० मिमि वर्षा भयो ।

कँडेलका अनुसार यो वर्षको मनसुनमा सबभन्दा कम वर्षा कर्णालीको उत्तरपूर्वी क्षेत्रमा भएको छ । डोल्पाको दुनैमा रहेको वर्षा मापन केन्द्रमा चार महिनामा ४ सय १२ मिमि वर्षा रेकर्ड भएको छ, यो सरदरभन्दा बढी हो । त्यहाँ मनसुनका चार महिनामा सरदर २ सय ७६ मिमि वर्षा हुन्छ । अघिल्ला वर्षको मनसुनमा खासै वर्षा नहुने मनाङ–मुस्ताङमा पनि यो वर्ष सरदरभन्दा बढी वर्षाभएको छ ।

मुस्ताङमा सरदर १ सय ५८.५ मिमि वर्षा हुने भए पनि यो वर्ष ४ सय ३० मिमि रेकर्ड भएकोकँडेलले बताइन् । असार पहिलोसाता परेको आरीघोप्टे वर्षापछिको बाढीले मनाङदेखि लमजुङसम्मै क्षति गराएको थियो ।

‘मुलुकका ८६ वटा मापन केन्द्रको रेकर्डअनुसार मनसुन सिजनमा सरदरभन्दा १५ प्रतिशत बढी वर्षा भएको छ,’ उनले भनिन्, ‘अझै मनसुन बाहिरिएको छैन, वर्षाको केही मात्रा थपिन सक्छ ।’ ८६ वटा स्टेसनको तथ्यांकअनुसार सरदर १३८०.४ मिमि वर्षा हुन्छ, यो वर्षको मनसुन सिजन जेठ १८ देखि असोज १४ सम्म १५८९.५ मिमि वर्षा भएको छ ।

विभागका अनुसार यो वर्ष पनि गत वर्षहरूमा जस्तै धेरै स्थानमा थोरै क्षेत्र ढाकेर क्लाउड बर्स्ट (आरीघोप्टे वर्षा) भएको छ । त्यस्तो प्रकृतिको वर्षाले धेरै क्षति गराएको जानकारहरू बताउँछन् ।

यो वर्ष जेठ ३० मा मनसुन भित्रिएको थियो । नेपालमा सामान्यतया जेठ अन्त्यमा सुरु हुने मनसुन असोज दोस्रो सातासम्म सक्रिय हुने गर्छ । विभागले शनिबार (अक्टोबर २) मनसुन बाहिरिने आकलन गरेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासी अहिलेको अवस्था हेर्दा तत्काल मनसुन बाहिरिने संकेत नदेखिएको बताउँछिन् । भारतका विभिन्न स्थानको न्यूनचापीय क्षेत्रको असरका कारण केही दिनदेखि काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा जारी छ ।

नेपालसहित दक्षिण एसियाली मुलुकहरूका मौसमविद्हरूले यो वर्षको मनसुनमा सरदर वर्षा (नर्मल) हुने आकलन गत वैशाखमा गरेका थिए । त्यतिबेला नेपालमा सरदर वर्षा आकलन गरिए पनि पूर्वी नेपाल र पश्चिम नेपालको उत्तरी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको थियो । मनसुनी प्रक्रिया करिब १ सय ५ दिन चल्छ । मनसुन अवधिमा वार्षिक वर्षाको ८० प्रतिशत वर्षा हुन्छ । रासस