जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बालुवाटारमा सर्वदलीय बैठक सुरू, एमाले अनुपस्थित

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटरमा सुरू भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र संसद गतिरोध अन्त्य गर्न भन्दै छलफलका लागि देउवाले बैठक बोलाएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको उपस्थित बिनै बैठक सुरू भएको हो।

सर्वदलीय बैठकमा देउवासहित, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी छन् ।

वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएको र एमाले फुटाएका दलका प्रतिनिधिसमेतलाई बैठकमा बोलाइएको भन्दै आफूहरू नजाने उसले बताएको थियो। यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन ।