जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बाजुराकी १८ वर्षीया निरुता शाहको पोखरामा शव फेला

दिपक परियार
पोखरा ।

बन्द कोठाबाट दुर्गन्ध आउन थालेपछि मंगलबार पोखरा–१ अधिकारी टोलका छिमेकीले प्रहरीलाई खबर गरे । प्रहरीले ताला फोरेर हेर्दा किशोरीको शव खाटमा लडिरहेको अवस्थामा भेटियो । ताला फोरेपछि प्रहरीले खानतलासी गर्दा बाजुराको जगन्नाथ गाउँपालिका–१ बस्केनाकी १८ वर्षीया निरुता शाहको शव भएको पत्ता लगायो । शव छेउमा उनका श्रीमान् गणेश विष्टले लेखेर छाडेको चिट थियो ।

प्रहरीका अनुसार चिटमा गणेशले आफू ठेकेदारकोमा काम गरेको पैसा मागेर फर्किंदा श्रीमती कोठाभित्रै झुन्डिरहेको अवस्थामा फेला परेको उल्लेख गरेका छन् । चिटमा भनिएको छ, ‘उनकै लागि घरपरिवार त्यागेर आएँ । उनले मलाई छाडेर गइन् । म पनि बाँचेर अर्थ छैन । म गण्डकीमा हाम फाल्छु । लास भेटियो भने हामी दुवैलाई सँगै जलाइदिनू ।’

निरुता र गणेश उक्त कोठामा भाडामा बस्दै आएका थिए । निरुताको परिवारले भने उनको आत्महत्या नभई हत्या नै भएको दाबी गरेको छ । घटनाबारे जानकारी पाएपछि निरुताका बुबा नन्दबहादुरले बिहीबार पोखरा आएर गणेशविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका छन् । २७ वर्षीय गणेश भने हालसम्म भेटिएका छैनन् । उनले प्रयोग गर्ने फोन ‘स्विच्ड अफ’ छ ।

नन्दबहादुरका अनुसार उनले निरुतालाई पढाउनका लागि कैलालीको घोडाघोडी नगरपालिकामा रहेको सुख्खड बजारस्थित आफ्नो काकाको घरमा राखेका थिए । त्यतिबेलै कालीकोटको नरहरिनाथ नगरपालिका–१ घर भई सुख्खडमा आफ्नो दाइसँग बस्दै आएका गणेशसँग निरुताको चिनजान भयो । दुवैबीच माया बस्यो । कक्षा ११ को परीक्षा सकेपछि २०७७ भदौमा दुवैले भागेर विवाह गरे । गणेशले कालीकोटकै घरमा निरुतालाई लगे । गत वैशाखमा निरुता माइत फर्किइन् । उनको शरीरभरि नीलडाम थियो । ‘केटो आबारा रहेछ,’ नन्दबहादुरले भने, ‘सानैमा विवाह गर्नु हुँदैन, भविष्य बिग्रन्छ भन्दा नमानेपछि हाम्रो त्यति धेरै बोलचाल पनि थिएन । फर्केर आइसकेपछि जे भयो भयो भनेर घरमै राखेका थियौं ।’