जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रधानमन्त्री द्वारा ईदुल फित्रको अवसरमा शुभकामना व्यक्त, घरमै रहेर सुरक्षित तवरले चाडपर्व मनाउन आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विशेष परिस्थितिमा घरमै रहेर सुरक्षित तवरले चाडपर्व मनाउन आह्वान गरेका छन्। इस्लाम समुदायको पवित्र पर्व ईदुल फित्रको अवसरमा शुभकामना दिँदै उनले यस्तो आग्रह गरेका हुन्।

‘विगत डेढ वर्षदेखि हामी विश्वब्यापी संकटका रुपमा कोभिड-१९ भाइरसको महामारी सामना गरिरहेका छौं । महामारीलाई रोक्ने हाम्रो अथक प्रयत्नका वावजुद यस महाव्याधिका कारण धेरै दिदीबहिनी दाजुभाइहरुले ज्यान गुमाइसक्नु भएको छ ।’ सन्देशमा भनिएको छ, ‘उहाँहरुप्रति म हार्दिक श्रद्धासुमन अर्पण गर्दछु र भाइरस संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यस विशेष परिस्थितिमा घरमै रहेर सुरक्षित तवरले चाडपर्व मनाउन पनि म आह्वान गर्दछु ।’

ओलीले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएको बताएका छन् । उनले यस्ता विशेषताहरु मौलिक पूँजीको रुपमा रहेको उल्लेख गरेका छन् । ‘एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् ।’ सन्देशमा भनिएको छ,‘विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु यस देशमा सम्मानित र संरक्षित छन् ।’

ओलीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको उल्लेख गरेका छन् । उनले समृद्ध नेपाल-सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा आफूहरु लागेको दोहोर्याएका छन्।