जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रकाश पराजुली र मीना बुढाथोकी पहिलो दोहोरी च्याम्पियन बन्न सफल

जन्मभुमि खबर ,
पोखरा ।

प्रकाश पराजुली र मीना बुढाथोकीको जोडी नेपालकै पहिलो दोहोरी च्याम्पियन बन्न सफल भएको छ ।

फेवाताल किनारमा शनिबार राति भएको दोहोरी च्याम्पियनको फाइनलमा निर्णायक प्रजापति पराजुलीले च्याम्पियनको घोषणा गरेका हुन् । प्रतियोगितामा शोभा कार्की र बालचन्द्र बराल दोस्रो भए ।

त्यस्तै, रीता रावत, सविन आचार्यको जोडी तेस्रो र मीना नेपाल र राजेन्द्र पाठकको जोडी सान्त्वना भएको छ ।

नेपाल टेलिभिजनको प्रस्तुतिमा विगत ९ महिनादेखि जारी प्रतियोगितामा देशका विभिन्न ठाउँबाट प्रतियोगीले भाग लिएका थिए । जसको ग्राण्ड फिनाले गण्डकी प्रदेश राजधानी पोखरामा भएको हो ।

जीतपछि च्याम्पियन मीना बुढाथोलीले सबैको आशीर्वादले आफूहरु नेपालकै पहिलो दोहोरी च्याम्पियन बन्न सफल भएको बताइन् । उनले यस्तै साथ र सहयोग सधैंभरि रहने अपेक्षासमेत व्यक्त गरिन् ।

विजेता समूहले २० लाखसहित १ करोड बराबरको रियालन्स जीवन बिमा तथा उपविजेता समूहले १० लाखसहित ५० लाख बराबरको जीवन बिमा पुरस्कार प्राप्त गरेका छन् । यस्तै, तेस्रोले ३ लाख र सान्त्वनाले २ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रमुख अतिथि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङ लगायतले पुरस्कार वितरण गरे ।

नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङले पहिलो दोहोरी च्याम्पियनको अभूतपूर्व सफलतापछि टेलिभिजनले अब छिट्ट्रै दोहोरी च्याम्पियनको दोस्रो संस्करण ल्याउने घोषणा गरे ।

प्रतियोगिता निर्णायकमा प्रजापति पराजुलीसहित रमेश बिजी ,चन्द्र शर्मा र सीता थापा थिए । गायक बद्री पंगेनी र गायिका प्रीति आलेले होस्ट गरेका थिए ।
‘प्रतिस्पर्धा दोहोरीकोः संरक्षण संस्कृतिको’ नाराका साथ आयोजित प्रतियोगिताको प्रायोजन एड्भटाइजिङ प्रालिले गरेको हो ।