जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा केदारेश्वर मन्दिरमा यसवर्ष पनि बोलबम मेला नहुने

जन्मभुमि खबर
पोखरा ।

पोखरास्थित केदारेश्वर महादेवमणि मन्दिरमा लाग्ने बोलबम मेला यस वर्ष पनि नहुने भएको छ ।

पवित्र तीर्थस्थल केदारेश्वरमा हरेक वर्ष बोलबम मेला सञ्चालन हुँदै आएको थियो । कोभिड-१९ को जोखिमका कारण गत वर्ष पनि बोलबम मेला स्थागित गरिएको थियो ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले यस वर्ष पनि बोलबम मेला नगर्ने निर्णय गरिएको केदारेश्वर गुरुकूल वेद आश्रमका पीठाधीश डा. लेखनाथ आचार्यले जानकारी दिए ।

बोलबम मेला नगरे पनि मन्दिरको गेटमा शिवलिंग राखिने र स्वास्थ्य मापदण्डको पालना गरेर आउने भक्तजनलाई भौतिक दूरी कायम गर्दै पूजा गर्न भने दिन सकिने डा. आचार्यले बताए ।

उनले भने,  “कोरोनाको जोखिम कायमै छ, तीर्थालु नआइदिए राम्रो हुन्छ । तर श्रद्धा र भक्तिका कारण पनि भक्तजन आउनुहुन्छ,” उनले भने, “भक्तजन आएको खण्डमा केही व्यवस्था त गर्नैपर्छ ।”

केदारेश्वरमा हरेक वर्ष साउन महिनाको हरेक सोमबार बोलबम मेला लाग्ने गर्छ । मेला भर्न हजारौं भक्तजन आउने गर्दछन् । केदारेश्वर हरेक वर्ष साउन महिनामा बोलबम मेला एउटा विशेष उत्सवको रुपमा मनाउने परम्पराको विकास हुँदै आएको छ ।

भक्तजनले बगरस्थित गाईघाटबाट सेतीको जल उठाई पैदलयात्रा गरी केदारेश्वरमा जलार्पण गर्दछन् । केदारेश्वरमा जलअर्पण गर्नाले भगवान महादेव खुशी हुने र मनोकांक्षा पूर्ण हुने जनविश्वास छ ।