जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नक्कली पत्रकार को परिचयपत्र भिरेर हिड्ने प्रहरीको खोरमा

नेपालमा घाँटीमा कार्ड भिरेको मान्छे देखे ड्युटीमा बसेका प्रहरीहरुले “पत्रकार” सम्झेर नरोकी पठाउछन।  तर चितवनको प्रहरीले कार्ड भिरेर हिडेको व्यक्तिलाई चेकजाँच गर्दा नक्कली पत्रकार भएको फेला पारेपछि पक्राउ गरेर हिरासतमा राखेको छ।

“प्रेस” लेखेको कार्ड घाँटीमा भिरेर गैंडाकोटबाट चितवनको नारायणगढस्थित पुल्चोकतिर आउंदै गरेको व्यक्तिलाई प्रहरीले रोके। “कोरोना महामारीको बेला कता हिडेको “भनेर सोधे पनि।  तर उनले आफु रिपोर्टर भएको जिकिर गरे। ड्युटीमा रहेका प्रहरीले पत्रकारको कार्ड देखाउन अनुरोध गरे।  जब उनले आफुलाई पत्रकार भन्दै जिकिर गरेको कार्ड देखाए, प्रहरीहरु तीन छक्क परे।

उनले देखाएको कार्ड गैँडाकोटस्थित आमा डिजिटल फ्लेक्स प्रिन्टको नाममा भे’टियो।  प्रहरीले शंका लागेर सोधपुछ गर्दा कुनै सञ्चारमाध्यमको सम्वाददाता नभएको पुष्टि भएपछि नवलपुरको गैँडाकोट ५ का २२ वर्षीय बिजय लामिछानेलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका लामिछानेमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा सूचना अधिकारी सरोज गिरीले जानकारी दिए ।