जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दसैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरूद्धको खोप- राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको १ करोड खोप आउने सुनिश्चित भइसकेको बताएका छन् ।

आइतबार (आज) कान्ति बाल अस्पताललाई बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । त्यस्तै उनले दशैँलगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने बताए ।

४० लाख मोडेर्ना र ६० लाख फाइजरको खोप खरिदको व्यवस्था गरिएको र दशैँलगत्तै फाइजरको १ लाख खोप आउने उनले जानकारी दिए । राज्यमन्त्री श्रेष्ठका अनुसार फागुनसम्ममा क्रमशः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने भएको छ ।

त्यस्तै सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको पनि राज्यमन्त्री श्रेष्ठले बताए । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा खटिँदा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि उनले जानकारी गराए ।