जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा बजेट पारित भएपछि मात्र बाँकी ६ मन्त्री नियुक्त गरिने

जन्मभुमि खबर,
पोखरा ।

गण्डकी प्रदेश सरकारमा मन्त्रीहरुको कार्य विभाजनमा सहमति जुटेको छ ।

गठबन्धनबीच भएको समझदारी अनुसार प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका कुमार खड्काले तत्कालका लागि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुहुने भएको छ।

उहाँले अर्थ या भौतिक पूर्वाधारमा दावी गर्दै आउनुभएको थियो । यस्तै, माओवादी केन्द्रबाट मन्त्री बन्नुभएका मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ ।

जनता समाजवादी पार्टीका मन्त्री हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पाउने टुंगो लागेको छ । यसअघि उहाँले अर्थ मन्त्रालयमा दावी गर्दै आउनुभएको थियो ।

अर्का बिना विभागीय मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ ले साबिककै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने हुनुभएको छ ।
मन्त्रीको कार्यविभाजन भए पनि अझै ६ वटा मन्त्रालयमा मन्त्री नियुक्त भएका छैनन् ।

प्रदेश सरकारमा रहेका ११ वटा मन्त्रालय मध्ये अर्थ, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन, कृषि, पर्यटनलगायतका मन्त्रालय भने मुख्यमन्त्री पोखरेलले नै राखेका छन् । बाँकी मन्त्रीको नियुक्ति बजेट पारित भएपछि मात्रै गर्ने दलहरूबीच सहमति भएको छ ।