जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोना संक्रमितको संख्या एकैदिन एक हजार नाघ्यो, ८ जनाको मृत्यु

जन्मभुमि खबर
काठमाडौं ।

नेपालमा कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकका अनुसार नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा देशभर ५ हजार ८४ नमुनाको पिसिआर परीक्षण र ६९९ जनाको एन्टिजेन परीक्षण भएको थियो। ती मध्ये पिसिआर विधिबाट १ हजार १५ जना र एन्टिजेन विधिबाट ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ।

हाल देशभर ६ हजार २९० जना सक्रिया संक्रमित रहेका छन्। जसमध्ये संस्थागत आइसोलेसनमा ५७६ जना र होम आइसोलेसनमा ५ हजार ७१४ जना रहेका छन्। यस्तै देशभर ११६ जना आइसियु र ४६ जना संक्रमित भेन्टिलेटरमा उपचारत छन्।

गत २४ घण्टामा २ सय ६२ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ३ सय पुगेको मन्त्रालयले जनाएको छ। यस्तै देशभर ८५ जना क्वारेन्टाइनमा रहेका छन्।

डा गौतमका अनुसार गत २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ जना पुगेको छ।