जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एमालेको विधान महाधिवेशन आजदेखि

सरकारबाट बहिर्गमनपछि बदलिएको भूमिका र पार्टी विभाजनपछि गुमेको शक्ति आर्जनको उपायको खोजीमा प्रमुख प्रतिपक्ष दल एमालेले आत्ममन्थन सुरु गर्दै छ । संघीय सरकारबाट बाहिरिएको अढाई महिना र पार्टी विभाजनको पाँच हप्तापछि एमालेले देशभरबाट ६ हजारभन्दा धेरै नेता–कार्यकर्ता सहभागी गराएर आत्ममन्थन गराउन थालेको हो ।

शुक्रबारबाट ललितपुरको गोदावरीमा एमालेको तीनदिने प्रथम विधान महाधिवेशन सुरु हुँदै छ । यति ठूलो सहभागितामा एमालेले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो कार्यक्रम हो । विधि र नीति निर्माणका लागि केन्द्रित गरेर विधान महाधिवेशन आयोजना गरिएको एमाले नेताहरूले बताएका छन् ।

एमालेले पहिलो विधान महाधिवेशनमार्फत राज्यसत्तामा पुनरागमन गर्ने सन्देश दिने तयारी गरेको छ । नेकपा छुट्टिएर पूर्ववत् एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै माधव नेपाल नेतृत्वको समूह बाहिरिएपछि दोस्रो क्षति व्यहोरेको एमालेले धेरै प्रतिनिधि भेला पारेर पूर्ववत् हैसियतमा फर्किने सन्देश दिने तयारी गरेको छ । एमाले विभाजन गरी ९ भदौमा माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको छ ।

एक महिनाकै बीचमा विभाजनको क्षति व्यहोरेको एमालेले नेपालको नेतृत्वमा बनेको नेकपा एसमा लागेका नेता–कार्यकर्ता फर्काउने योजना पनि बनाएको छ । त्यसका लागि नेतृत्वमा ७० वर्षे उमेरहदलाई निरन्तरता दिने, प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने, पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्ने, फरक मतलाई सकेसम्म राजनीतिक र सांगठनिक प्रतिवेदनमा समेटेर विभाजन चिर्नेलगायतको योजनासहित विधान महाधिवेशन अगाडि बढाएको छ ।

महाधिवेशनमा पेस हुने अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमा सहभागीले समूहगत आधारमा मन्थन गर्नेछन् । र, उनीहरूका सुझाबसमेत समेटेर ती प्रतिवेदन पारित गर्ने र घर फर्कँदा नेता–कार्यकर्तामा उत्साह भर्ने एमालेको योजना छ । ओलीले प्रतिवेदनमा आफ्नो कमजोरीबारे उल्लेख गरेको भन्दै घनश्याम भुसाललगायतका केही नेताले भने असन्तुष्टि व्यक्त गरिसकेका छन् ।