जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आर्मी र न्यु डायमन्ड च्याम्पियन

विभागीय टोली त्रिभुवन आर्मी क्लबले साबिक विजेता हेल्प नेपाललाई ३–१ सेटमा पराजित गर्दै छैटौँ पुरुष एनभिए क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आर्मीले हेल्प नेपाललाई २६–२४, १५–२५, २५–१८ र ३३–३१ को सेटमा हराएको हो ।

साबिक विजेता हेल्प नेपालले उपाधि रक्षा गर्न आर्मीलाई निकै कडा चुनौती दिएको थियो । तर, पहिलो र तेस्रो सेटमा निर्णायक मोडमा हेल्प नेपालका खेलाडीले गल्ती गर्दा आर्मीले उपाधिमाथि कब्जा जमाएको हो ।

आर्मीले पहिलो सेट २६–२४ को संघर्षपूर्ण जित निकाल्यो । हेल्थ नेपालका खेलाडीले दोस्रो सेटमा सुधारिएको प्रदर्शन गर्दा आर्मी १७–२५ ले पराजित भयो । त्यसपछि आर्मीले तेस्रो सेटमा सम्हालिएर खेल्यो । यो सेटमा आर्मीका खेलाडीले हेल्प नेपाललाई खेलमा फर्कन मौका नै नदिई खेल २५–१८ ले आफ्नो पक्षमा पार्‍यो । चौथो सेटमा आर्मीले ३३–३१ को संघर्षपूर्ण जित निकाल्यो । च्याम्पियन टोली आर्मीले चार लाख र उपविजेता हेल्प नेपालले दुई लाख पाएका छन् ।

यस्तै, न्यु डाइमन्ड क्लबले महिलातर्फको च्याम्पियनसिप उपाधि जितेको छ । न्यु डाइमन्डले साबिक विजेता एपिएफ क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि हात पारेको हो ।

राष्ट्रिय खेलाडीहरूको वर्चस्व रहेको एपिएफविरुद्ध न्यु डाइमन्ड पहिलो सेटमा २४–२६ ले पराजित भयो । त्यपपछिका तीनवटै सेटमा न्यु डाइमन्डले उत्कृष्ट प्रदर्शन गर्‍यो । प्रत्येक सेटमा सुधारिएको खेल प्रदर्शन हुँदा न्यु डाइमन्डले सहजै आर्मीलाई फाइनलमा पाखा लगायो । न्यु डाइमन्डले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१७ र चौथो सेट २५–१५ ले जित्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।

च्याम्पियनसिपका सर्वाेत्कृष्टहरू
– सर्वाेत्कृष्ट– प्रतिभा माली (महिला), न्यु डायमन्ड र मानबहादुर श्रेष्ठ (पुरुष) आर्मी
– स्पाइकर– शान्ति थारू (महिला), आर्मी र विनितकुमार (पुरुष) हेल्प नेपाल
– ब्लकर– सरस्वती चौधरी (महिला), एपिएफ र हरि अधिकारी (पुरुष) आर्मी
– सेटर– अरुणा शाही (महिला), न्यु डायमन्ड र इमबहादुर राना (पुरुष), पुलिस
– सर्भर– संगम महतो (महिला), आर्मी र दुर्गाबहादुर खड्का (पुरुष), आर्मी
– लिवेरो– सलिना श्रेष्ठ (महिला), न्यु डायमन्ड र विनोद चन्द (पुरुष), एपिएफ
– प्रशिक्षक– कुमार राई (महिला), न्यु डायमन्ड र जगत सिंह (पुरुष) आर्मी