जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कैलाली र कञ्चनपुरमा हावा हुरीको ताण्डव, २० भन्दा बढी घाईते।

कैलाली,२४ जेठ।

कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति पुगेको छ ।स्थानीय घाइते हुनुका साथै केही सवारी साधन समेत हावाले उडाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार सेती अञ्चल अस्पतालमा हावाहुरीका कारण १५ जनाभन्दा बढी घाइते भएका छन् ।धनगढीसँगै जोडिएको डोकेबजारमा हावाहुरीले उडाएको ग २ प ८७२० नम्बरको पिकअप महिन्द्रा जीपका चालक र सहचालक दुबैजना घाइते छन् । कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरी नेतृत्वको प्रहरी टोलीले दुबैजनाको उद्धार गरी सेती अञ्चल अस्पताल पुर्याएको छ ।

कञ्चनपुर प्रहरीले सातजना भन्दा बढी घाइते महाकाली अञ्चल अस्पतालमा पुगेको जनाएको छ । हावाहुरीले कैलाली र कञ्चनपुरका सैयौं घरका छाना उडाएको छ भने पक्की घरको जीना (छतमा जाने बाटो)को जस्ताहरु उडाएको छ ।स्थानीयहरु पूर्वी तराईको बाराको जस्तै हावाहुरी आएको बताउँछन् । कैलाली, कञ्चनपुरमा बिहीबार बेलुकी ८ बजेदेखि झण्डै ४० मिनेट जति आएको भयानक हावाहुरी अहिलेसम्मकै ठूलो भएको स्थानीयहरुको दावी छ ।धनगढीका होटल सुनगाभाका सञ्चालक सुदीप क्षेत्रीको पनि हावाहुरीेले घरको छाना उडाएको छ भने उनको दुईलाख लागानीको सटरिङ उडाएको छ ।

कैलाली र कञ्चनपुरमा दर्जनौं विद्युतका पोलहरु ढलाएकाले विद्युत् आपुर्ती बन्द भएको छ भने नेपाल टेलिकमका पोलहरुमा पनि क्षति पुगेपछि केही स्थानको फोन सेवा समेत अवरुद्ध भएको छ । कैलाली प्रहरीेले मानिसहरु रुख ढलेर च्यापिएको खबर आए पनि त्यहाँ जाने सडकमा दर्जनौं रुखहरु ढलेकाले जान नसकेको जनाएको छ ।‘हामीलाई धेरै ठाउँबाट रुखहरु ढलेर मानिसहरु च्यपिएको खबर आइरहेको छ, तर जान खोज्दा बाटो अवरुद्ध छ’ कैलालीका एसपी सुदीप गिरिले भने । उनले कैलालीभरका सबै प्रहरीलाई मानवीय उद्धारमा खटाएको बताए ।