जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२३ औं पोखरा सडक महोत्सवका सहभागी अवलोकनकर्ताले कोरोना भाइरसको भ्याक्सिन लगाउन पाउने

जन्मभुमि खबर ,
पोखरा ।

२३ औं पोखरा सडक महोत्सव अवलोकनका लागि जाने अवलोकनकर्ताले कोरोना भाइरसको भ्याक्सिन लगाउन पाउने भएका छन् । महोत्सव आयोजक रेवान पोखराले महोत्सवको पूर्वाद्र्धमा आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महोत्सव संयोजक नरेशबहादुर भट्टराईले नागरिक स्वास्थ्यलाई मध्यनजरमा राख्दै महोत्सव अवलोकन गर्न आउने नेपाली तथा वाह्य पर्यटकलाई कोरोना भ्याक्सिन लगाइने जानकारी दिए ।

लेकसाइडका विभिन्न पाँच स्थानबाट जोनसोन एण्ड जोनसोन कम्पनीको भ्याक्सिन लगाइने उनले बताए । अम्मट, गौरीघाट, सेण्टर प्वाइन्ट, हल्लनेचोक र महोत्सवको मुख्य स्थल कोमागानो पार्कबाट यो सुविधा दिइने उनले जानकारी दिए । यसपटक हेल्थ प्रोटोकललाई विषेध ध्यानमा राख्दै विभिन्न स्थानमा हेल्थ डेष्ट राखिने भट्टराईको भनाई छ । लेकसाइडका विभिन्न सात स्थानबाट एम्बुलेन्स सेवा पनि प्रदान गरिने छ ।

जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य मन्त्रालयसंगको समन्वयमा यो सेवा दिइन लागेको पोखरा पर्यटन परिषद्का अध्यक्ष समेत रहेका रेवान पोखराका पूर्व अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । यो महोत्सवको आयोजक रेवान पोखरा भएपनि सबै पोखरेलीले आफ्नैं महोत्सव ठानि सफल पार्न सहयोग गर्नुपर्ने उनले बताए । यसले लेकसाइडको मात्र नभई समग्र पोखराकै पर्यटन विकासमा मद्दत पु¥याउने भएकाले पनि यसलाई सफल पार्न पोखरेली लाग्नुपर्नेमा उनले जोड दिए ।

पत्रकार सम्मेलनमा बोल्दै रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले भोलि दिउँसो १ बजे कोमागाने पार्कमा भव्य समारोहविच महोत्सवको उद्घाटन गरिने बताए । त्यसअघि हल्लनेचोकबाट १२ बजे २५ वटा साँस्कृतीक समुहको झाँकि सहितको र्याली तीन किलोमिटर पैदल हिंडदै महोत्सवस्थल कोमागाने पार्क सम्म आउने बरालले जनाए ।

महोत्सव स्थलमा ३० भन्दा बढी हस्तकलाको स्टल रहनेछ । ३ दिन सम्म चल्ने महोत्सवमा कोमागाने पार्क प्रवेशका लागि दिउँसो ५० रुपैयाँको तथा राति सय रुपैयाँको टिकट लाग्ने रेवान पोखराका सचिव विकास भट्टराईले जानकारी दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकि प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुङ्गा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगितात्मक कार्यक्रमहरु महोत्सवका आकर्षणहरुको रुपमा रहने उनको भनाइ छ ।