जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

होटल तथा रेष्टुरेन्ट बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खुल्ने

काठमाडौँ — सरकारले होटल तथा रेष्टुरेन्टलाई बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खोल्न पाउने आदेश जारी गरेको छ । कोरोना भाइरस नियन्त्रणसम्बन्धी आदेश जारी गर्दै मन्त्रिपरिषद्को सोमबारको बैठकले होटल तथा रेष्टुरेन्टमा बिहान ८ देखि बेलुकी ८ बजेसम्म मात्रै खुल्ने र त्यसभन्दा अघि र पछि होम डेलिभरीको व्यवस्था मात्रै उपलब्ध गराउन पाउने भनेको हो ।

राष्ट्रिय राजमार्गमा रहेका होटल तथा रेष्टुरेन्टले भने स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिन पाउने आदेश भएको हो । आदेशमा रहेका व्यवस्थाबारे सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनस्वास्थ्य मापदण्ड अपनाएर मात्रै होटल तथा रेष्टुरेन्ट खोल्न पाउने आदेश भएको बताए ।

त्यस्तै, सार्वजनिक यातायात तथा हवाइ यातायातका यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, अनिवार्य स्यानिटाइजरको प्रयोग गर्नुपर्ने आदेश सरकारले गरेको छ । मास्क नलगाएको यात्रु भएमा चालक वा सहचालक एवम् व्यवस्थापकले बढीमा १० रुपैयाँ लिइ मास्क उपलब्ध गराउनुपर्ने आदेश भएको मन्त्री गुरुङले बताए । लामो दूरीका यातायातमा बीच बाटोमा यात्रु थप्न नपाउने र यात्रु संख्या कोरोना नियन्त्रणका लागि जिल्लामा गठित निकायलाई जानकारी दिनुपर्ने पनि आदेश भएको छ ।

हवाइजहाजका यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने र हवाइजहाजमा अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा छ । त्यस्तै, उडानपछि अनिवार्य रूपमा विमान, यातायातको सधान र ब्यागेजको डिसइन्फेक्ट गर्नुपर्ने आदेशमा रहेको मन्त्री गुरुङले जानकारी दिए ।