जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्थिर समयमा प्रचारप्रसार गरे २५ हजार जरिवाना

निर्वाचन आयोगले स्थिर समयमा दल र उम्मेदवारले प्रचारप्रसार गरे तत्काल २५ हजार जरिवाना लगाउने निर्णय गरेको छ । हिजो रातिदेखि स्थिर समय सुरु भएकाले यो समयमा प्रचारप्रसार गरे निर्वाचन कसुर ऐनअनुसार जरिवाना लगाउने आयोगले निर्णय गरेको हो ।

निर्वाचन आयोगले दलहरूलाई प्रचारप्रसारका लागि दिएको १७ दिनको समय सकिएसँगै स्थिर समय सुरु भएको हो । मतदानको ४८ घण्टाअघिको अवधिलाई स्थिर समय भनिएको हो ।

यो अवधिमा के–के गर्न पाइँदैन ?

– निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन ।

– मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्छ ।

– सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा गराउनुहुँदैन ।

– निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउण्ड सिस्टम, सर्ट म्यासेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन ।

– मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टाअघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्‍याउने कार्य गर्नुहुँदैन ।

– बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोजभतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन हुँदैन ।

– मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पर्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्नु वा गराउनुहुँदैन ।

– राजनीतिक दल तथा उम्मेदवार, दलका भ्रातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ ।