जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिडन्त

साफ च्याम्पियनसिप २०२१ मा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल माल्दिभ्सको राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ९:४५ बजे सुरू हुनेछ ।
माल्दिभ्समा जारी प्रतियोगितामा दुवै टिमले सुरूवाती दुई खेल खेलिसकेका छन् ।

नेपालले खेलेका दुवै खेलमा जित हात पारेको छ। पहिलो खेलमा आयोजक माल्दिभ्समाथि १-० को जित निकाल्दै नेपालले प्रतियोगितामा सुखद् सुरूवात गरेको थियो ।

दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ३-२ को जित हात पार्‍यो। नेपाल ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

यता भारतले भने सुरूवाती दुई खेलमा जित निकाल्न सकेको छैन । पहिलो खेलमा १० खेलाडीमा सीमित बनेको बंगलादेशले भारतलाई १-१ गोलको बराबरीमा रोकेको थियो। दोस्रो खेलमा भारतलाई श्रीलंकाले गोलरहित बराबरीमा रोक्न सफल भयो ।

२ अंक जोडेको भारत अंक तालिकाको चौथो स्थानमा छ।

भारतविरुद्धको आजको खेलमा जित हात पार्न सके नेपाल फाइनल पुग्नेछ। नेपालविरुद्ध हारेको अवस्थामा भने भारतको फाइनल यात्रा कठिन बन्न सक्छ ।

भारत साफको सात पटकको च्याम्पियन भएकाले भारतविरूद्ध खेल्न कठिन हुने नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्। तर उनले भारतविरुद्ध उत्कृष्ट खेल्ने अपेक्षा राखेको बताएका छन् ।

नेपाल र भारतबीच गत महिना दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल भएका थिए। पहिलो खेलमा १-१ गोलको बराबरीमा सकिदा दोस्रो खेलमा भारतले २-१ ले जित निकालेको थियो ।

नेपाल र भारतबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपाल २ खेलमा मात्र विजयी भएको छ। ५ खेल बराबरीमा सकिएका छन् भने १४ खेलमा नेपाल पराजित भएको छ।

नेपालले भारतलाई सन् २०१३ देखि हराउन सकेको छैन। सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो। त्यसयता भारतविरुद्ध खेलेका ७ मध्ये नेपाल ५ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन् ।