जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सम्झना बोहरा हत्या प्रकरण : अभियुक्त सार्वजनिक

जन्मभुमि खबर

गुल्मी, २० फागुन । गुल्मीमा युवतीको हत्या गरेको आरोपमा नियन्त्रणमा लिएको व्यक्तिलाई सार्वजनिक गरिएको छ । प्रहरीले गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका ४७ वर्षीय लालबहादुर खत्रीलाई आज बिहीबार सार्वजनिक गरेको हो ।

खत्रीलाई रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको हत्या गरेको अभियोगमा नियन्त्रणमा लिइएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको जनाएको छ ।

लालबहादुरले कर्तव्य गरेर सम्झनाको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ । गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी सम्झना १८ दिनपछि फागुन १७ गते मृत अवस्थामा फेला परेकी थिइन् ।  घर नजिकैको बारीको कुनामा टाउको बोरामा राखेको अवस्थामा उनको शव फेला परेको थियो ।

अभियुक्त लालबहादुरलाई जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । सम्झना बेपत्ता भएको दुई दिनपछि उनकी सासू तोमकली खत्री घर नजिकै रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । रासस