जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विश्वकप फुटबल : आज अर्जेन्टिना र नेदरल्यान्ड्स तथा ब्राजिल र क्रोएसिया भिड्दै

कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वाटरफाइनल खेलहरू सुरू हुँदैछन् । पहिलो दिन ब्राजिलले क्रोएसिया र नेदल्यान्ड्सले अर्जेन्टिनाको सामना गर्नेछ ।

नेपाली समयअनुसार पौने ९ बजे सुरू हुने खेलमा पाँचपटकको विजेता ब्राजिल र साबिक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुन लागेको हो । समूह विजेताका रूपमा नकआउट चरण पुगेको ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलले हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ ।

यस्तै समूहगत चरणमा एक जित र दुई बराबरीसहित अपराजित रहेको क्रोएसियाले प्रिक्वाटरफाइनलमा जापानलाई टाइब्रेकरमा हराएको थियो । ब्राजिल यसअघि अन्तिमपटक सन् २०१४ को विश्वकपमा सेमिफाइनल पुगेको थियो । ब्राजिल र क्रोएसिया यसअघि अन्तिमपटक सन् २०१८ मा प्रतिस्पर्धा गरेका थिए जसमा ब्राजिल ३-१ गोलले विजयी भएको थियो । सन् २००६ र २०१४ को विश्वकपमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएकामा ब्राजिल दुवैमा विजयी भएको थियो । क्रोएसियाले हालसम्म ब्राजिललाई हराउन सकेको छैन । जारी प्रतियोगितामा ब्राजिलका रिचार्लिसनले ३ र क्रोएसियाका आन्द्रेय क्रेमारिचले दुई गोल गरेका छन् ।

यता पौने १ बजे सुरू हुने खेलमा दुईपटकको विजेता अर्जेन्टिना र तीनपटक फाइनल पुगेर पराजित भएको नेदरल्यान्ड्स भिड्न लागेका छन् । सन् १९७८ मा नेदरल्यान्ड्सलाई नै पराजित गरेर पहिलोपटक विश्व विजेता बनेको अर्जेन्टिना सन् २०१४ मा उसैलाई टाइब्रेकरमा हराएर फाइनल पुगेको थियो ।

यसपटक पहिलो खेलमा साउदी अरबसँग पराजित भएपनि त्यसपछि लगातार जित हात पारेर नकआउट चरण पुगेको अर्जेन्टिना अस्ट्रेलियालाई २-१ गोलले हराएर क्वाटरफाइनल आइपुगेको हो। समूहगत चरणमा दुई जित र एक बराबरी खेलेको नेदरल्यान्ड्सले प्रिक्वाटरफाइनलमा अमेरिकालाई ३-१ गोलले हराएको थियो ।

नेदरल्यान्ड्स र अर्जेन्टिना अन्तिमपटक सन् २०१४ को विश्वकप सेमिफाइनलमा भिडेका थिए । नेदरल्यान्ड्ससँग भएका ९ भिडन्तमा अर्जेन्टिनाले तीन जित, दुई बराबरी र चार हारको नतिजा निकालेको छ । सन् २००३ यता नेदरल्यान्ड्सले अर्जेन्टिनालाई हराउन सकेको छैन । जारी प्रतियोगितामा नेदरल्यान्ड्सका कोडी गाक्पो र अर्जेन्टिनाका लियोनल मेस्सी दुवैले तीन तीन गोल गरेका छन् ।