जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विश्वकप छनोट २०२२ को अन्तिम खेलमा नेपाल अष्ट्रेलियाबाट पराजित

नेपालले विश्वकप फुटबल २०२२ र एशिया कप फुटबल २०२३ को छनोटको निराशाजनक अन्त्य गरेको छ । छनोट अन्तगर्तको आफ्नो अन्तिम खेलमा नेपालले अष्ट्रेलिया बिरुद्ध ०–३ को हार बेहोरेको छ ।

कुवेतस्थित अल जबेर अन्तर्राष्ट्रिय रङशालामा शुक्रबार अबेर राति सम्पन्न खेलमा अष्ट्रेलियाले नेपालमाथि सहज जित हात पार्यो । अष्ट्रेलियाले छनोटको आफ्नो सबै खेल जित्न सफल भयो । नेपालले छनोटको आठ खेलमध्ये मात्र दुईमा जित हात पार्न सक्यो । नेपालले दुबै जित चाइनिज ताईपेइमाथि रहयो । पहिलो र दोस्रो गरी दुबै चरणमा चाइनिज ताईपेइ नेपालसँग हार बेहोर्यो ।
दोस्रो चरणको तेस्रो खेलमा जोर्डनसँग ३–० को हार बेहोरेको नेपालले चौथो तथा अन्तिम खेलमा अष्ट्रेलिया बिरुद्ध समेत उक्त गोल अन्तरको हारलाई निरन्तरता दियो । नेपालले अपेक्षाकृत बलिया प्रतिद्वन्दी अष्ट्रेलिया र जोर्डन बिरुद्ध नेपालले कुनै गोल गर्न नसक्नुले नेपाली प्रशंसकलाई निराश तुल्यायो । यद्दपी नेपालले ठूलो हार भने टार्यो । विश्व वरीयताको १७१ औं स्थानमा रहेको नेपालले ४१ औं स्थानको अष्ट्रेलियाको सामना गर्दा गोलको केही अबसर सृजना गरेपनि सफल भएन ।

पहिलो हाफमा २–० को अग्रता बनाएको अष्ट्रेलियाले दोस्रो हाफमा थप एक गोल गर्यो । पहिलो हाफको छैठौं मिनेटमै म्याथ्यु लेखीले सुरुवाती गोल गर्दै १–० को अग्रता दिलाउनुभयो । ३८ औं मिनेटमा फ्रेन करनेचले गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर पार्नुभयो ।

दोस्रो हाफको सुरुवातमै मार्टिन बोएलले गर्नुभएको प्रयास लक्ष्यबाट बाहिरिन पुग्यो । तर अर्को मिनेटमा नै मार्टिन बोएलले गर्नुभएको प्रयास गोलमा परिणत भएपछि अष्ट्रेलियाले अग्रता तेब्बर पार्यो ।
कप्तान किरण चेम्जोङले अष्ट्रेलियाले गरेको आधा दर्जनभन्दा बढी गोलको प्रयासलाई विफल पार्नुभयो । ८४ औं मिनेटमा वेयन मार्भिलको प्रयासलाई चेम्जोङले विफल बनाउनुभयो । कप्तान चेम्जोङले नेपालको प्रतिनिधित्व गरी आफ्नो ७२ औं अन्तर्राष्ट्रिय खेलमा सहभागी हुनुभयो ।
नेपालले आठ खेलमध्ये दुईमा जित हात पारेर छ अङ्क जोडेर छनोट प्रतियोगिता टुंग्याएको छ । समूह बी मा नेपाल अङ्कतालिकाको चौथो स्थानमा रह्यो । चाइनिज ताईपेइ पूछारमा रह्यो ।