जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्काे निर्णय

जन्मभुमि खबर
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद समाधानका लागि प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगलाई दबाब दिएको छ। बिहीबार आयोग कार्यालयमै पुगेर पार्टी केन्द्रीय कमिटी बैठकको निर्णय बुझाउँदै नेकपा नेताले छिटो निर्णय लिन आग्रह गरेका छन्।

पार्टीको आधिकारिकता दाबी गर्दै आएको प्रचण्ड-नेपाल समूहको बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले विवाद तत्काल समाधान गर्न आयोगलाई आग्रह गर्ने निर्णय गरेको थियो। सोही निर्णय लिएर बिहीबार प्रचण्ड-नेपाल समूहका नेता लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायत नेता आयोग कार्यालय पुगेका हुन्।

‘बुधबारको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय लिएर नेताहरु आयोग कार्यालय जानु भएको हो’, नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले भने, ‘उहाँहरुले पार्टी विवादको विषयमा भएका निर्णय बुझाउँदै तत्काल आधिकारिकताको निर्णय दिने विषयमा ध्यानाकर्षण गराउनुहुनेछ।’

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्। फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय सुनाएपछि सत्ताको खेल सुरु भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहकार्य गरेर सरकार गठनको कसरत गरिरहेका प्रचण्ड-नेपाल समूहलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पहिला पार्टीको आधिकारिकता टुंगो लगाउन आग्रह गरिसकेका छन्। कांग्रेससँगको सहकार्यका लागि पार्टीको आधिकारिकता आवश्यक पर्ने भएपछि प्रचण्ड नेपाल समूहले आयोगलाई दबाब दिँदै आएको छ।  रासस