जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

युरो कप : स्पेन सेमिफाइनलमा

१६ औं संस्करणको जारी युरोकपको क्वार्टरफाइनलमा स्विट्जरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनल प्रवेश गरेको छ।

उपाधि दाबेदार मानिएको स्पेनले स्वीटजरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै यूरो २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । स्पेन पेनाल्टीमा ३–१ गोल अन्तरले विजयी भएको हो । मिकेल ओयरजाबालले निर्णायक पेनाल्टीमा गोल गर्दै स्पेनलाई जीत दिलाए ।

यसअघि निर्धारित समय तथा अतिरिक्त समयमा पनि खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटसम्म पुगेको थियो । खेलमा डेनिस जाकारियाले आत्मघाती गोल गरेपछि स्पेनले खेलको सुरुवातमा नै अग्रता लिएको थियो । तर, खेलको दोस्रो हाफमा जेर्डान साकिरीले गोल गर्दै खेल बराबरी गरे ।

७७ औँ मिनेटमा रेमो फ्रुलरले रातो कार्ड पाएपछि स्वीटजरल्याण्ड १० खेलाडीमा सिमित बन्यो । एक खेलाडी कम भएपनि स्वीटजरल्याण्डले पूर्व यूरोकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटसम्म तानेको थियो ।

पेनाल्टीमा स्वीटजरल्याण्डका तीन तथा स्पेनका दुई खेलाडी गोल गर्नबाट चुकेका थिए । अब स्पेनले बेल्जियम र इटालीबीचको खेलको विजेतासँग सेमिफाइनलमा भिड्नेछ ।