जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माछापुच्छ्रे गाउँपालिका का वडाध्यक्षले गरे प्रहरीसामु आत्मसमर्पण

जन्मभुमि खबर ,
पोखरा ।

उपभोक्ता समितिका अध्यक्ष कुटपिट गरेको आरोपमा अनुसन्धानका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरुङले आत्मसमर्पण गरेका छन् । मंगलबार वडा प्रहरी कार्यालय बगरमा जाहेरी परेपछि उनले बुधबार राति आत्मसमर्पण गरेका हुन् ।

‘उहाँ आफैँ प्रहरी कार्यालय आउनुभएको हो । त्यसपछि हाम्रो नियन्त्रणमा हुनुहुन्छ । घटनाबारे अनुसन्धान भइरहेको छ,’ कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले भने । आफूमाथि वडाध्यक्षले गत १७ असारमा हातपात गरेको भन्दै माछापुच्छ्रे ८ खोरामुख–उपल्लो इदिखोला मोटरबाटो उपभोक्ता समिति अध्यक्ष अमृत भण्डारीले पक्राउ गरेर कारबाही माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए ।

प्रहरीकहाँ आत्मसमर्पण गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वडाध्यक्ष गुरुङले काम ढिला गरेको भनेर प्रश्न गरेको विषयमा आफू थुनामा जानुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि जनाएका छन् । ‘विकासको काममा किन ढिलाइ गरेको भनेकै कारण उपभोक्ता समितिसँगको विवादमा थुनामा जानु पर्ने रैछ ! म जनताको सेवा ढिला गर्नेहरू विरुद्ध चौकी हैन जेल बस्न तयार छु । जय जनता,’ उनले लेखेका छन् ।

वडाध्यक्ष गुरुङले यसअघि गत फागुनमा पनि इन्जिनियरलाई हातपात गरेका थिए । होमस्टेको स्टिमेटसम्बन्धी काममा ढिलाइ गरेको भन्दै वडाध्यक्षले हातपात गर्दा इन्जिनियर लक्ष्मण जिसीको अनुहारमा चोट लागेको थियो । जिसीले प्रहरीमा जाहेरी दिएका थिए । त्यतिबेला प्रहरी कार्यालयमा दुई पक्षबीच मिलापत्र भएपछि विवाद साम्य भएको थियो