जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मन्त्रिपरिषद् पुनर्गठन, जसपाका तीन मन्त्री थपिए

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गरेका छन्।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टीका तीन जना नेतालाई मन्त्री नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रदीप यादव, मृगेन्द्र सिंह र इस्तियाक राईलाई मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद्‌मा रहेका चारमध्ये तीन जना मन्त्रीलाई फिर्ता बोलाउँदै उनीहरुको ठाउँमा नयाँ मन्त्रीको नाम सिफारिस गरेका थिए। जसमा यादवलाई वन, सिंहलाई कृषि र राईलाई भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएकोमा राष्ट्रपतिले नियुक्त गरेकी हुन्।

जसपाले वनमन्त्री राम सहाय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु कुमारी यादव र कृषि मन्त्री महेन्द्र राय यादवलाई फिर्ता बोलाएको थियो।

नवनियुक्त मन्त्रीहरुको सपथ आजै गराउने राष्ट्रपति कार्यालयको तयारी छ।