जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मनकामना केबुलकार चैत २५ देखि ३० गतेसम्म बन्द हुने

जन्मभुमि खबर
काठमाडौं ।
मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतीको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मत सम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । चैत ३१ गतेदेखि पुनः नियमित सञ्चालनमा आउने उनले बताए । उक्त अवधिभर चितवनको इच्छाकामना–४ चेरेसस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट भने यथावत् सञ्चालनमा रहने प्रालिले जनाएको छ । २३ वर्षअघि स्थापना भएको नेपालको पहिलो केबुलकार एनालगबाट डिजिटल प्रविधिमा जाने भएको हो । गोरखाको मनकामना स्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालिले २०५५ साल मङसिरबाट सञ्चालनमा ल्याएको मनकामना केबुलकार तीन चरणमा स्तरोन्नति गरिने  मनकामना दर्शन प्रालिले जनाएको छ ।

महाप्रबन्धक शेरचनका अनुसार पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरिने छ भने दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिनेछ । अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिने उनले बताए ।