जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भदौ १ देखि ४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोला उत्पादन र प्रयोगमा रोक

सरकारले आउँदो भदौ एक गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन तथा आयात र बिक्री वितरण गरेको पाइएमा कारबाही गर्ने भएको छ ।

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको प्रयोग नगर्न आग्रह गरेको छ ।

सरकारले २०७८ साल असोज १९ मा राजपत्रमा सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाएको थियो । तर अहिले पनि बजारमा यस्ता प्लास्टिक झोलाको बिक्री तथा प्रयोग हुँदै आएको छ ।

४० माइक्रोनभन्दा पातलो झोलाले वातावरणमा प्रतिकूल प्रभाव पार्ने र जथाभाबी फाल्दा खोला तथा नदीमा प्रदूषण बढेको छ । ढल तथा पानीकाे निकासमा समस्या उत्पन्न गरेको छ । विभागले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ कार्यान्वयन गर्न पनि अनुरोध गरेको छ ।

विगतमा कोरोना महामारीका कारण अनुगमन हुन नसकेको तर अब भदौ एक गतेदेखि सरकारको निर्णय कार्यान्वयन गरी अटेरी गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ र वातावरण संरक्षण नियमावली २०७७ अनुसार कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।