जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत चार खण्डको निर्माण सम्पन्नः स्थानीयवासी उत्साहित

उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको चार वटा खण्डको निर्माण सम्पन्न भएको छ ।  चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने यस आयोजनाको ११ मध्ये हालसम्म चार वटा खण्डको स्तरोन्नति सम्पन्न भएको हो । सो आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७३÷७४ देखि सुरु भएको छ ।

आयोजनाका निमित्त प्रमुख आश्विनीकुमार यादवका अनुसार चार वटा खण्ड भएको ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ६५ र सात वटा खण्ड भएको ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ८५ प्रतिशत निर्माण सकिएको छ । “जोमसोम–कोरला सडकको सातमध्ये चार वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका छन्”, उहाँले भन्नुभयो, “बाँकी तीन वटा खण्डको काम अन्तिम चरणमा पुगेको छ ।”

दिवा–रौताह–एपेक्स जेभीले ठेक्का लिएको लोमान्थाङ गाउँपालिका–१ छोसेरदेखि कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक विसं २०७५ मा ११ मिटर फराकिलो, नाली, गयावियन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल गरिएको थियो । भेना–घिलिङ, जोमसोम–कागबेनी–ताङ्वे र ताङ्वे–चैले खण्डको सडक पनि स्तरोन्नति गर्ने काम सकिएको आयोजनाले जनाएको छ । रु छ अर्ब लागत अनुमान गरिएको आयोजनामा आर्थिक वर्ष २०७७÷७८ सम्ममा रु पाँच अर्ब १३ करोड ४८ लाख खर्च भइसकेको छ ।

सडक निर्माण र मोटरेबल पुल निर्माणका लागि आयोजनामार्फत आर्थिक वर्ष २०७३÷०७४ मा रु ४६ करोड २० लाख, २०७४÷७५ मा रु एक अर्ब ५२ करोड ५२ लाख, २०७५÷७६ मा रु एक अर्ब ३१ करोड, २०७६÷७७ मा रु ९० करोड २५ लाख र आव २०७७÷७८ मा रु एक अर्ब २४ करोडमा ९३ करोड ५० लाख बजेट खर्च भएको आयोजनाले जनाएको छ । पछिल्लो आव २०७७÷७८ मा सडक स्तरोन्नतितर्फ रु ८१ करोड ३२ लाख र पुल निर्माणतर्फ रु १२ करोड ८७ लाख खर्च भएको थियो । यस सडकको विभिन्न ठाउँमा करिब २० वटा मोटरेबल पुल निर्माणाधीन छन् ।

आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वर–नारच्याङ पुल (१९ किलोमिटर), मुस्ताङको कोबाङ–जोमसोम (१९ किलोमिटर) र चराङ–छोसेर खण्ड (२५ किलोमिटर) दूरीको सडकको भौतिक प्रगति कम देखिएको छ । कोबाङ–जोमसोम सडक कालोपत्र र चराङ–छोसेर खण्डको सडक ग्राभेल गर्न कोशी एण्ड न्यौपाने जेभीले ठेक्का लिएको थियो । शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको गलेश्वर–नारच्याङ पुल खण्डमध्ये गलेश्वरदेखि बेगखोला सम्मको करिब छ किलोमिटर सडक कालोपत्र शुरु भएको छ । शर्मा–गजुरमुखीले ठेक्का लिएको मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि कैकुखोलासम्मको १६.५ किलोमिटर सडक कालोपत्र शुरु गरिएको छ । बर्खाका कारण रोकिएको सडक कालोपत्रलाई दसँैलगत्तै पूर्णता दिने निर्माण कम्पनीले जनाएका छन् ।

प्रवेश बिन्दुमा पर्ने बेनी नगरपालिका–९ गलेश्वरमा करिब एक किलोमिटर र चौथो नम्बर प्याकेजमा पर्ने कोवाङदेखि जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न लागिएको आयोजनाका इञ्जिनीयर आशिष मानन्धरले बताउनुभयो ।

“बेनी घाँसा खण्डको दुई प्याकेजमा डिबिएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा असपाल्ट प्रविधिको कालोपत्र हुँदैछ”, उहाँले भन्नुभयो, “११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र हुन्छ ।” बेनीदेखि जोमसोमसम्म दुई लेन कालोपत्र र जोमसोमदेखि कोरलासम्म ११ मिटर फराकिलो ग्राभेल सडक बनाउन सञ्चालित यो आयोजना राष्ट्रिय गौरवको हो ।

यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ को रपमा लिने गरिन्छ । यो आयोजनाले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मीक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । कोरला नाकासम्म सहज रुपमा सडक सुबिधा प्राप्त भएमा नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तिर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीहरुमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ । “सडक सुविधायुक्त र सहज हुने हो भने पर्यटक आगमन बढ्छ, कोरला नाका सञ्चालन गर्न दवाव पुग्छ, स्थानीयवासी भन्छन्, “सडकको स्तरोन्नति र कालोपत्र हुन थालेपछि हामी उत्साहित भएका छौ ।”