जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा जीप चालक पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाका २९ वर्षीय राजेन्द्र माझी र जीपमा सवार जैमिनी नगरपालिका–१० राङ्खानीका ३६ वर्षीया दुर्गा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो । उहाँका अनुसार दुवैको घटनास्थलमै मृत्यु भएको थियो ।

जिप मध्यपहाडी लोकमार्गदेखि पाँच सय मिटर तल खसेको सूचना अधिकारी केसीले बताउनुभयो । जिप सडकभन्दा धेरै तल खसेकाले कति यात्रु सवार थिए भन्ने अहिलेसम्म एकीन हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

“कस्मेटिक सामानको मार्केटिङ गर्ने गाडी रहेकाले अन्य यात्रु गाडीमा नभएको पनि हुन सक्छ”, केसीले भन्नुभयो । अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार गरी शव परीक्षणका लागि बागलुङ बजारस्थित धौलागिरि अस्पतालमा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।