जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेरियो आहा गोल्डकप को नाम , आगामी संस्करणदेखी आहा रारा पोखरा गोल्डकप

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको प्रतिष्ठित औद्योगिक घराना हिमश्री फुड्सले प्रालिले यहाँको चर्चित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई थप १० वर्ष मुख्य प्रायोजन गर्ने भएको छ ।

सहारा क्लब पोखराले २० वर्षअघिदेखी सञ्चालन गर्दै आएको सो फुटबल प्रतियोगितालाई हिमश्री फुड्सले सुरुआतदेखीनै मुख्य प्रायोजन गर्दै आएकामा थप १० वर्षका लागि तेस्रो पटक साथ दिने गरी सम्झौतामा आज हस्ताक्षर गरिएको हो ।

सम्झौतामा हिमश्री फुड्स प्रालिका कार्यकारी अध्यक्ष प्रेम कुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार सहारा क्लवलाई मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले बार्षिक रुपमा आगामी पहिलो तीन बर्ष रु १८ लाख, दोश्रो तीन बर्ष २१ लाख, तेस्रो तीन बर्ष २४ लाख र विसं २०८८ सालमा रु २७ लाख सहयोग गर्नेछ ।

हिमश्री फ्ुड्सले यस अघि दुई पटक सम्म उक्त प्रतियोगितालाई १०÷१० बर्ष मुख्य प्रायोजकको रुपमा सहयोग गर्दै आएको छ ।समाजसेवी उद्योगपति एवं पूर्व सांसद स्व सूर्य बहादुर केसीको पहलमा विसं २०५९ सालमा आहा गोल्ड कपबाट १० बर्ष सम्झौता भएको थियो भने विसं २०६९ देखि २०७८ को लागि दोश्रो पटक आहा रारा गोल्डकपका नाममा सञ्चालन हुँदै आएको हो ।

विगतमा आहा राराका नाममा सञ्चालन हुँदै आएको यस प्रतियोगिता आगामी संस्करणदेखी आहा रारा पोखरा गोल्डकप फुटबलका नामबाट सञ्चालन हुने सहाराका महासचिव रामजी प्रसाद अधिकराीले बताउनुभयो ।कार्यक्रममा प्रालिका निर्देशक किरण केसीले सहारा क्लबको समाजसेवमा थप १० वर्ष जोडिन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

पोखराको खेलकुदलाई प्रोत्साहन गर्ने आफूहरुको उद्धेश्य रहेको उहाँले बताउनुभयो । केसीले भन्नुभयो,“सहारा क्लब प्रतियोगिता मात्र होइन समाजसेवामा पनि जोडिएको छ । त्यसैले सकारात्मक काममा हाम्रो उत्पादनसँगै जोडिन पाएकोमा हामी केसी परिवार खुशी छौँ । ”

राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश कुमार गुरुङले क्लवले सामाजिक कार्यमा बचत रकम खर्चिने भएकोले उक्त प्रतियोगिता सञ्चालन गर्दा पोखरा रङ्गशाला न्यूनतम सरसफाई शुल्क बाहेक अन्य शुल्क लिन नमिल्ने बताउनुभयो ।

गण्डकी प्रदेश खेलकुद परिषद्का निर्वतमान सदस्य सचिव तेजबहादुर गुरुङले व्यापारिक घरानाहरुको सहयोगबाट नेपालको खेलकुद विकासमा योगदान पुग्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले खेलकुद विकासमा सहारा र हिमश्री फुड्स्ले विशेष योगदान गरेको बताउनुभयो ।

पोखराको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन सहित पोखरालाई स्पोर्टस् हब सिटिमा परिचित गराउँदै आएको छ ।यस प्रतियोगिता नेपालको फुटबल इतिहासमा मोफसलको वर्षेनी निरन्तर आयोजना हुने प्रतियोगितामा पर्दछ ।

प्रतियोगिताबाट बचत हुने रकम क्लबले सञ्चाल गरेको फुटबल एकेडेमीमा खर्च हुँदै आएको छ । सो एकेडेमीमा देशका विभिन्न जिल्लाका विपन्न वर्गका बालकहरु आवासीय अध्ययन सहित फुटबल प्रशिक्षण गर्दै आएका छन् ।