जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा संचालन-नागरिक उड्डनमन्त्री श्रेष्ठ

जन्मभुमि खबर ,
पोखरा ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री जीवनराम श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा संचालन हुने दाबी गरेका छन् । विमानस्थल आगामी अंग्रेजी नयाँ वर्षकै दिन संचालन गर्ने तयारीमा संशय कायम रहँदा मन्त्री श्रेष्ठले पोखरामा बुधबार पत्रकारसँग सो दाबी गरेका हुन् ।

निर्माण पूरा नहुँदै विमानस्थल चीन सरकारका विदेश मन्त्री वाङ यीले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चाबी दिएर सांकेतिकरुपमा विमानस्थल हस्तान्तरण गरिसकेका छन् भने सरकारले अंग्रेजी नयाँ वर्ष अर्थात् पुस १७ देखि संचालन गर्ने यसै साता निर्णय गरेको थियो । तर विमानस्थल संचालन पूर्व रिठ्ठेपानी डाँडा कटान र ल्यान्डफिल साइट स्थानान्तरण गर्नु अनिवार्य हुन्छ ।

यस विषयमा समाजवादी प्रेस संगठनले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पर्यटन मन्त्री श्रेष्ठले रिठ्ठेपानी डाँडा कटानलाई तत्काल अघि बढाउने निर्णय भएको र ल्यान्डफिल साइट व्यवस्थापनमा पोखरा महानगरले प्रतिवद्धता जनाएको बताए । उनले भने, ‘डाँडा कटानका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढाउने निर्णय भइसकेको छ । रुख कटानको काम पनि भइरहेको छ । पोखरा महानगर प्रमुखले एयरपोर्ट सञ्चालनको लागि समयमा नै फोहोरमैला व्यवस्थापनको कामलाई अगाडि बढाउँछु भन्नुभएको छ ।’
चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा करिब निर्माण पूरा भएको यो विमानस्थलमा क्यालिब्रेसन फ्लाइट आगामी असोज/कात्तिकमा हुने तयारी छ । मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय उडानका लागि एयर रुट मिलाउने, अन्तर्राष्ट्रिय एयरलायन्स कम्पनीसँग समन्वय गर्ने कुरा सँगसँगै अघि बढ्ने जानकारी दिए ।

पोखराको ब्राण्डको रुपमा परिचित यहाँको साहसिक प्याराग्लाइडिङ जोगाउन सकेसम्म उपाय खोजिने मन्त्री श्रेष्ठले बताए । ‘विमानस्थल सुरक्षामा कुनै पनि सम्झौता नगरिने तर यहाँको ब्रान्ड प्याराग्लाइडिङ जोगाउन उपाय पनि खोजिने छ,’ उनले भने ।

नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि हालको विमानस्थल’bout के गर्ने भन्ने कुनै निर्णय नभएको उनले बताए । तर सञ्चालनमा नभएका एयरपोर्टलाई वैकल्पिक व्यवस्थापन गर्ने, पर्यटनमा आधारित साहसिक खेलको रुपमा र पर्यटनमा आधारित रहेर विकास गर्ने नीतिगत निर्णय भने गरेको उनको भनाइ छ ।

पोखराको चाउथेमा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म टर्मिनल भवन, पेरीफेरि रोड, रनवे, २५ मिटर ह्यांगर, ट्क्याक्सी वे, विमानस्थलभित्र टर्मिनल भवन, यात्रु आउजाउको बाटो, एटिआर, ३ अन्तर्राष्ट्रिय विमान र ४ ट्विनअटर विमान पार्किङका लागि भौतिक संरचना बनिसकेका छन् । विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले विमानस्थलको ९८ प्रतिशतका काम पूरा भएको जानकारी दिए । अब यहाँ आर्मी ब्यारेक र आयल निगम डिपो निर्माण पनि हुन बाँकी छ । आयोजना प्रमुख मुनंकर्मीले पुस १७ अगावै विमानस्थलभित्रका आवश्यक सम्पूर्ण भौतिक संरचनाको काम पूरा हुने बताए ।

विमानस्थलको बाधक रुपमा रहेको पूर्वको रिठ्ठेपानी डाँडा कटानका लागि इआइए स्वीकृत भई हालसम्म ६ सय रुख कटान भइसकेको छ । क्लालिब्रेसन फ्लाइटका लागि डाँडा कम्तीमा १४ मिटर काट्नुपर्छ । जहाज अवतरणका लागि डाँडाको ४० मिटर उचाइ काट्नुपर्ने देखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । क्लालिब्रेसन फ्लाइटपछि ४० मिटर डाँडा काटिसक्ने मुनंकर्मीले बताए । डाँडाको ३ सय ८१ रोपनी जमिनमध्ये ८१ रोपनी व्यक्ति र ३ सय रोपनी जग्गा सरकारको नाममा छ । डाँडा कटान गरेर निस्किएको माटोले ल्यान्डफिल साइट पुरिने तयारी छ ।

तर पोखरा महानगर पटक पटक ल्यान्डफिल स्थानान्तरणमा तयारीमा रहे पनि ठोस निर्णय गर्न सकेको छैन । विमानस्थलभन्दा करिब २ किलोमिटर नजिकको ल्यान्डफिल साइटमा पोखराको दैनिक २ सय टन फोहोर पुग्ने गरेको छ । फोहोरमा चराचुरुंगी बढी हुने भएकोले विमान उडान गर्दा चरासँग ठोक्किई सम्भावित दुर्घटना हुने भएकोले यो बाधक बन्न पुगेको हो ।

सन् २०१७ मा निर्माण सुरु भएको विमानस्थल कोरोनाका कारण पछि धकेलिएको हो । नागरिक उड्डयन प्राधिकरणले १ वर्ष समय थप गरेर सन् २०२२ जुलाई १० को समयसीमा कायम थियो । विमानस्थलबाट दैनिक ६ अन्तर्राष्ट्रिय र ४८ आन्तरिक उडान हुन सक्ने प्राधिकरणले जनाएको छ ।