जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ९८ प्रतिशत सम्पन्न , पुस १७ देखि सञ्चालनमा ल्याउने तयारी

जन्मभुमि खबर ,
पोखरा ।

सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ (जनवरी १) देखि सञ्चालनमा ल्याउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

प्रवक्ता निरौलाका अनुसार उक्त विमानस्थलमा आगामी अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुनेछ । झण्डै २२ अर्ब रुपैँया लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २०० हेक्टर क्षेत्रफलमा निर्माण भएको हो । उक्त विमानस्थल निर्माण भएसँगै मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा अन्तराष्ट्रियस्तरसँग सिधा जोडिनेछ ।

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ९८ प्रतिशत सकिएको छ । पर्यटन क्षेत्रको सम्भावना बोकेको पोखरामा सरकारले क्षेत्रीयस्तरको विमानस्थल बनाउने निर्णय गरेसँगै यसको काम धमाधम अघि बढिरहेको र अहिले निर्माण सम्पन्नताको चरणमा पुगेको छ ।

यो विमानस्थलमा वाइडबडी विमानको सट्टामा १८० सिट क्षमताका न्यारोबडी विमान सञ्चालन गरिने छ । साँघुरो उपत्यका भएकाले वाइडबडी विमानहरू सञ्चालनमा समस्या आउने हुँदा प्राविधिक कारणले न्यारोबडी विमान मात्रै यस विमानस्थलमा चल्ने बताइएको छ ।

यस्तै, यस विमानस्थलमा नेपालकै पहिलोपटक कंक्रिटको धावनमार्ग बनाइएको छ । जसमा छिटोछिटो धावनमार्ग सञ्चालन गर्नुपर्ने सरकारी पक्षको जिकिर छ । सरकाले आयोजना निर्माणका लागि अहिलेसम्म ३ हजार ८९९ रोपनी जग्गा अधिग्रहण गरेको छ । यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कूल लागत २२ अर्ब रुपैयाँ रहेको र यसको निर्माणको काम चिनियाँ ठेकेदार कम्पनीले गरिरहेको छ । तोकिएको समयभन्दा अघि नै सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना निर्माणमा कोरोना महामारीको प्रभाव परेको थियो । जसले गर्दा आयोजनाको निर्माण सम्पन्न हुन केही ढिलाई भएको क्यानले जनाएको छ ।