जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका २ जना सहित गण्डकी प्रदेशमा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु

जन्मभुमि खबर,
पोखरा ।

कोरोना भाइरस संक्रमणबाट पोखरामा ३ सहित गण्डकी प्रदेशमा थप ४ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार पोखरा तथा पाल्पाका अस्पतालमा  उपचाररत गण्डकी प्रदेशका फरक–फरक जिल्लाका ४ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका हुन् ।

पोखराका २ जनाले कोरोनाबाट पछिल्लो समय ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा पोखरा २५ का ९१ वर्षीय वृद्ध रहेका छन् । उनको आज बिहान ५ बजेर ४९ मिनेट जाँदा उपचार कै क्रममा पोखराको मेडिप्लस अस्पतालमा ज्यान गएको हो । उनलाई वैशाख ७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पोखरा १ की १ जना महिलाको समेत कोरोना संक्रमणबाट ज्यान गएको छ । ५५ वर्षीय उनको आज दिउँसो १२ बजेर ५४ मिनेट जाँदा उपचार कै क्रममा मेडिप्लस अस्पतालमा नै ज्यान गएको हो । उनलाई वैशाख ११ गतेमात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यता म्याग्दीका ७८ वर्षीय संक्रमित पुरुषले समेत पोखरामा नै ज्यान गुमाएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ का ७८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा आज बिहाज सवा ३ बजेको समयमा ज्यान गएको हो । उनलाई वैशाख १२ गतेमात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जाका १ जनाको पनि कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । जिल्लाको वालिङ नगरपालिका वडा नम्बर १२ का ५८ वर्षीय संक्रमित पुरुषको आज लुम्बिनी मेडिकल कलेज पाल्पामा ज्यान गएको हो । उनलाई वैशाख ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ सय १५ पुगेको छ ।