जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका पाँच दलको कडा चेतावनी संसद पुनःस्थापना नभए सडक संघर्ष गर्ने

जन्मभुमि खबर,
पोखरा ।

राजनीतिक दलहरुले संसद विघटन गर्ने कार्य राष्ट्रपति र प्रधानमन्त्रीको स्वेच्छाचारी निरंकुश र प्रतिगामी भएको भन्दै घोर निन्दा एवं भर्त्सना गरेका छन् ।

पाँच राजनीतिक दलका प्रमुखहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संविधान विरोधही हर्कतको राजनीतिक र कानूनी रुपमा सशक्त र दृढतापूर्वक प्रतिरोध गर्न संघर्षमा उत्रुनुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले यसका लागि संघर्षमा उत्रन सबै राजनीतिक पार्टी, कानून व्यवसायी, पेशागत संघसंगठन, नागरिक समाज, सञ्चारकर्मी एवं आम जनसमुदायलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छली विभिन्न चरणमा दलहरुलाई फुटाउन, राष्ट्रलाई विखण्डन गर्ने खालका र राष्ट्रिय सम्पत्ति, अर्थतन्त्रलाई ध्वस्त पार्ने खालको पटक पटकको अध्यादेश ल्याउने कदम निन्दनीय भएको र यसले देश र जनताको भावना र मर्मामाथि चोट पुर्याएको कास्कीका नेताहरुको आरोप छ ।

नेपालको संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्रीमा नियुक्त ओलीले ७६ (४) बमोजिम विश्वासको मत लिनुपर्ने बाध्यकारी प्रावधानको उल्लंघन गर्दै ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त हुनुपर्ने सिफारिसप्रति पनि आपत्ति जनाउँदै संविधानको संरक्षक राष्ट्रपतिबाटसमेत प्रधानमन्त्रीको सिफारिस अनुसार २१ घण्टाको मात्र समय दिनु आफैमा अव्यवहारिक भएको उनीहरुको निष्कर्ष छ ।

संविधानको धारा ७६ (५) ले कुनै दल विशेषलाई नचिन्ने सांसदको प्राप्त अधिकारको समेत हरण गरी १४९ जनाको हस्तक्षरलार्इै चुनौती दिंदै राष्ट्रपतिले संघीय तोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको ठाडो उल्लंघन गरेको नेताहरुको आरोप छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति र प्रधानमन्त्रीको हर्कत विरुद्ध देशमा रहेको प्रमुख प्रतिपक्षी राजनीतिक दलहरु सम्मानित सर्वोच्च अदालतमा उपस्थित भएर रिट जाहेर गर्नुपर्ने बाध्यता सृजना गराउन खोज्नुले सकारात्मक सन्देश दिंदैन ।’

यस्तो अवस्थामा संविधानको रक्षार्थ अदालतले समयलाई विलम्व नगरिकन संविधानको रक्षा र जनताको जीउ धनको सुरक्षाका लागि शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने र संसद पुनस्थापना गर्ने न्यायपूर्ण फैसला गर्नेमा कास्कीका नेताहरुले विश्वास व्यक्त गरेका छन् ।

नेताहरुले यदि संसद पुनस्थापना हुन नसके र देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था नभए आफूहरु सडक संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।

विज्ञप्ति प्रकाशित गर्ने पाँच दलहरुमा नेपाली कांग्रेसका सहसभापति राजेन्द्रमणि लामिछाने, नेकपा माओवादी केन्द्रका सचिव विश्वप्रकाश लामिछाने, नेकपा एमालेका अध्यक्ष मुक्तिनाथ पौडेल, जनता समाजवादी पार्टीका टीकाराम पौडेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष विष्णु पुरी रहेका छन् ।

प्रेस विज्ञप्ति