जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पाँचौ पोखरा स्पोर्टस् अवार्डमा उत्कृष्ट पुरुष तर्फ नविन र महिला तर्फ पार्वती उत्कृष्ट

पोखरा — पाँचौ पोखरा स्पोर्ट्स अवार्डमा पुरुषतर्फ करातेका नवीन रसाइली र महिलातर्फ तेक्वान्दोकी पार्वती गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा सेमी भर्चुअल माध्यमबाट विभिन्न सात विधामा खेलकुद अवार्ड प्रदान गरेको हो ।

मञ्चले पोखराको फुटबल खेल विकासमा योगदान पुर्‍याएका केशव रञ्जितलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ । उनलाई ४० हजार रुपैयाँ बराबरको चाँदीको करुवा प्रदान गरिएको छ । वर्ष उत्कृष्ट खेलाडीले नगद दुई/दुई लाख रुपैयाँ प्राप्त गरेका छन् । वर्ष उदियमान खेलाडी पौडीकी दुवाना लामा घोषित भएकी छन् । वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड बक्सिङका सुरेश मल्लले जितेका छन् । वर्ष उत्कृष्ट खेल संघ पुरस्कार जिल्ला आर्चरी संघलाई दिइएको छ ।

वर्ष खेलाडी पुरुषतर्फ नवीनसहित टेबलटेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल मनोनयनमा परेका थिए । बागलुङ बोंगादोभानका नवीन १३ औं सागमा ६७ केजी तौल समूहमा स्वर्णपदक विजेता कराते खेलाडी हुन् । बंगलादेशमा भएको पाँचौ साउथ एसियन च्याम्पियनसीपमा एकतर्फ कास्य र टिम इभेन्टमा रजत पदक विजेता पनि हुन् । अवार्ड समारोहमा उनले संघर्षपूर्ण चरणबाट गुज्रिँदै खेल जीवनलाई निरन्तरता दिइरहको अवस्थामा अवार्डले हौसला थपिएको बताए ।

वर्ष खेलाडी महिलातर्फ पार्वतीसहित साइक्लिङकी जमुना थापा र तेक्वान्दोकी प्रशंसा क्षेत्री उत्कृष्ट तीनको मनोनयनमा परेका थिए । लमजुङ दुधपोखरीकी पार्वती १३ औं सागमा २४–२९ वर्ष उमेर समूहमा १ स्वर्ण र १ कास्य पदक विजेता तेक्वान्दो खेलाडी हुन् । नेपाल प्रहरीमा आवद्ध उनले कोरियन एम्बास्डर नेसनल तेक्वान्दो च्याम्पियनसीपमा चौंथोदेखि नवौं संस्करणसम्म स्वर्ण पदक जितेकी थिइन् । राखेप च्याम्पियनसिपमा रजत, पहिलो लुम्बिनी नेस्नल च्याम्पियनसिपमा स्वर्ण, आठौं राष्ट्रिय खेलकुदको ३ विधामा २ मा स्वर्ण र १ मा रजत पदक उनले जितेकी छन् ।

उदियमान खेलाडीको मनोनयनमा दुवानासहित लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपिन खत्री परेका थिए । मनाङ ङिस्याङकी दुवाना हाल थाइल्यान्ड छिन् । उनले ६ वर्षको उमेरदेखि नै खेल जीवन सुरु गरेकी थिइन् । १३ औं सागमा उनले एकलतर्फ २ रजत जितिन् । टिम रिलेतर्फ ३ स्वर्ण पाइन् । २०० मिटर बटरफ्लाईतर्फ उनले राष्ट्रिय रेकर्ड कायम गरिन् । आठौं राष्ट्रिय खेलकुदमा ६ स्वर्ण र ४ रजत पदक विजेता उनले सन् २०१९ मा बैंग्लोरमा भएको एसियन एजग्रुप लङ कोर्स च्याम्पियनसीपमा ५०, १ सय र २ सय मिटर ब्रेस्टस्ट्रोका राष्ट्रिय रेकर्ड कायम गरेकी छन् ।

उत्कृष्ट प्रशिक्षकतर्फ सुरेशसहित पौडीका आनन्द कुँवर र फुटबलका किरण श्रेष्ठ मनोनयनमा थिए । पोखराका सुरेश ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता (२०४४) मा छनोट भएसँगै हालसम्म निरन्तर बक्सिङमा आवद्ध छन् । उनी २२ वर्षदेखि बक्सिङको प्रशिक्षकको रुपमा सक्रिय छन् । उत्कृष्ट खेल पत्रकारको अवार्ड २०७६ तर्फ नागरिक दैनिकका सन्देश श्रेष्ठ र २०७७ तर्फ मञ्चका पूर्वअध्यक्ष केशव पाठकले प्राप्त गरेका छन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेल संघले ३५/३५ हजार रुपैयाँ प्राप्त गरेका छन् । उत्कृष्ट खेलाडी, संघ र पत्रकारलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अवार्ड हस्तान्तरण गरे ।

कोरोना महामारीका कारण गत वर्ष पोखरा स्पोर्ट्स अवार्ड रोकिएको थियो । दुई वर्षको योगदानको मूल्यांकन गर्दै अवार्ड प्रदान गरिएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले बताए ।