जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पर्वत जिल्लाका बिभिन्न स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु, २ जना बेपत्ता

पर्वतका विभिन्न स्थानमा खसेको पहिरोमा परेर शुक्रबार ६ जनाको ज्यान गएको छ । दुई जना बेपत्ता भएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कुस्मा नगरपालिका–३ दुर्लुङमा पहिरोले माधव शर्माको घर पुरिँदा उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, दुई छोरी १६ वर्षकी विमला र ११ वर्षकी विनीता पौडेलको मृत्यु भएको छ। माधवकी पत्नी ३५ वर्षकी भगवती पौडेल र छोरा ९ वर्षका विनोद पौडेल बेपत्ता भएको प्रदेश प्रहरीका डीएसपी मीनबहादुर घलेले बताए।

यसै गरी कुस्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो खस्दा पाहुना आएका ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेश पौडेलको मृत्यु भएको छ। डीएसपी घलेका अनुसार पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।