जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल र भारतले आज मैत्रीपूर्ण फुटबल खेल खेल्दै

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले आज मैत्रीपूर्ण फुटबल खेल खेल्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

दशरथ रङ्गशालामा नेपाल र भारतले ६ वर्षपछि पहिलो पटक खेल्न लागेका हुन् । यस खेलमा घरेलु टोली नेपाल समर्थकसहितको मैदानमा उत्रिनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यस खेलका लागि दर्शकको उपस्थिति रहने जनाएको छ । कोरोना महामारीका सन्त्रासमा आयोजना हुन लागेको खेलमा सीमित दर्शकले मैत्रीपूर्ण खेल हेर्ने मौका पाउने छन् ।

नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा चार खेल बराबरीमा सकिएका छन् । साफ च्याम्पियनसिप आउँदो असोज १५ देखि ३० गतेसम्म हुनेछ ।

फिफा वरीयतामा भारत नेपालभन्दा माथि छ । पछिलो वरीयतामा भारत एक सय पाँचौं स्थानमा रहेको छ भने नेपाल एक सय ६८ औं स्थानमा रहेको छ । नेपालले पछिल्लो पटक भारतसँग २०१७ को जुन ६ मा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा भारत २–० ले विजयी भएको थियो ।

नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो । अनिल गुरुङ र जुमानु राईले गोल गरेपछि दशरथ रंगशालामा नेपालले भारतलाई २–१ ले हराएको थियो ।