जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल इराकसँग ६–२ ले पराजित

नेपाली राष्ट्रिय फुटबल टोली इराकसँग मैत्रीपूर्ण खेलमा पराजित भएको छ । शनिबार बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा नेपाल इराकसँग ६–२ ले हारेको हो ।

इराकविरुद्ध पहिलो हाफमा ४–२ ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खायो । इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे ।  त्यस्तै, कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक/एक गोल गरे ।

नेपालका मनीष डाँगीले एक गोल फर्काउँदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरेका थिए । मनीषले राष्ट्रिय टोलीबाट डेब्यु खेलमै गोल गरेका हुन् ।

नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोटअन्तर्गत बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो ।

फिफा विश्वकप छनोटअन्तर्गत इराक समूह ‘सी’मा छ । इराक ५ खेल खेल्दै ११ अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानको बहराइन ९, इरान ६, हङकङ ५ र कम्बोडियाको १ अंक छ ।

नेपालको भने विश्वकप छनोटको सम्भावना समाप्त भइसकेको छ । नेपाल समूह ‘बी’को चौथो स्थानमा छ । अष्ट्रेलिया शीर्ष स्थानमा छ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईपेसँग खेल्नेछ ।