जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

नेपालमा थप २४ जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित नमूनाहरूको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिएको छ ।

पुस महिनामा संकलित एक हजार १४३ पोजेटिभ नमूनाहरूको सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले ओमिक्रोन भेरियन्टले ल्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ ।

साथै, सीमामा परीक्षणलाई थप सशक्त बनाइएको र पोजेटिभ भएकाहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको बताइएको छ ।

पछिल्लो समय भारतमा संक्रमण व्यापक फैलिएपछि त्यसको असर नेपालमा पनि देखिन सुरू भएको छ।

गत मंगलबारदेखि नेपालमा क्रमिक रूपमा संक्रमितको संख्या वृद्धि भइरहेको छ ।

बिहीबार मात्र नेपालमा ५ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो। जुन दुई महिनायताकै बढी संक्रमित संख्या हो।

विज्ञहरूले यो संख्या थप बढ्ने भन्दै जतिसक्दो छिटो खोप लगाउन र जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्न सुझाएका छन् । रासस