जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा जेठ २२ देखि २८ सम्म पोखरामा हुने प्रतियोगिताका लागि तयार पारिएको लोगो मस्कट र नारा राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले शनिबार सार्वजनिक गरेका हुन् । राखेपका बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले लोगो र मस्कट छनोट गरेको हो ।

छनोट लोगो र मस्कट काठमाडौंको मैतीदेवी निवासी ६२ वर्षीय भोलानाथ पौड्यालले तयार पारेका हुन् । लोगोमा माछापुच्छे हिमाललाई रेखाकृतिमा राखिएको छ । आकाशेनीलो रेखाले शान्तिको प्रतीक परेवालाई प्रतिविम्बित गरेको छ भने रातो रंगको ४ धर्साले परेवाको पखेटा र ट्रयाकलाई दर्शाएको छ । ४ धर्साले साविकको प्रदेश ४ लाई पनि दर्शाएको छ । चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिबिम्ति गर्नुका साथै सबै टिमको प्रतिनिधित्व गरेको छ ।

मस्कटरुपमा गण्डकी प्रदेशमा पनि पाइने लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको छ । सुयोग्यराज काफ्लेले तयार पारेको ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा पारित भएको छ । लोगोलाई ५० हजार, मस्कटलाई २५ हजार र नारालाई १० हजार नगदबाट पुरस्कृत गरिएको छ ।