जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दोस्रो पटक पनि राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणको समय सकिएको छ । मंगलबार मध्यरातिसम्म राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेपछि १५ दिनको निर्धारित समय सकिएको हो । संवैधानिक व्यवस्था अनुसार दोस्रोपटक संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले मंगलबार मध्यरातिसम्म विधेयक प्रमाणीकरण गर्नैपर्ने थियो ।

तर उनले विधेयक प्रमाणीकरण नगरेपछि प्रमाणीकरणको समयवाधि सकिएको हो । नागरिकता विधेयक दोस्रोपटक संसद्का दुवै सदनबाट पारित भएर भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । संविधानको धारा ११३ (४) अनुसार राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नैपर्ने बाध्यता थियो ।

पहिलोपटक दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक राष्ट्रपति भण्डारीले सन्देशसहित पुनर्विचारका लागि संसद्मा नै फिर्ता पठाइदिएकी थिइन् । तर, दुवै सदनले राष्ट्रपतिको सन्देशमा कुनै सुनुवाइ नगर्दै विधेयक पुरानै अवस्थामा हुबहु पारित गरेका थिए । त्यसपछि राष्ट्रपतिले असन्तुष्टि जनाएकी थिइन् ।

दोस्रो पटक आएको सोही विधेयक १५ दिनसम्म अड्काएर राखे पनि पुनः अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिलाई देखिँदैन । तर राष्ट्रपतिबाट संविधानलाई खुला चुनौती दिएकी छन् ।