जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दोलखाको बिगुमा ‘योद्धा’ जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ जना घाइते

दोलखाको बिगु गाउँपालिका– ४ मा जीप दुर्घटना हुँदा ४ जनाकाे मृत्यु भएकाे छ । टाटा कम्पनीको प्रदेश–३–०१–०२३च ७५८० नम्बरको ‘योद्धा’ जीप दुर्घटना भएको दोलखा प्रहरीले जनाएकाे छ ।

दाेलखाका डिएसपी भेषराज रिजालका अनुसार सिंगटीबाट लादुकतर्फ जान लागेको जीप गएराति साढे १० बजेतिर दुर्घटनाग्रस्त भएको हो । जीप सडकबाट करिब डेढ सय मिटर तल खसेको जनाइएकाे छ।  दुर्घटनामा १७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बिगु- ३ घर भएका ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीय चण्डिका थापा रहेकाे प्रहरीले जनाएकाे छ ।

१७ घाइतेमध्ये १० जनालाई राति नै थप उपचारका लागि काठमाडौं पठाइएको र बाँकीकाे दाेलखा सदरमुकाम चरिकोट तथा काभ्रेकाे धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएकाे छ । रासस