जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशैभर जाडो बढ्यो

हाल देशमा जाडो मौसम सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार नेपालमा तत्कालै अन्य किसिमको मौसमी प्रणाली विकसित हुने देखिएको छैन । यद्यपि, ‘पोष्ट’ मनसुनको अन्त्य आइसकेको र ‘विन्टर’ पनि सुरु हुने क्रममा रहेकाले चिसो क्रमशः बढ्नेछ । ‘चिसो बढिरहेको छ, पहाडी र हिमाली भेगमा आंशिक बदलीको सम्भावना छ, तर वर्षा या हिमपातको सम्भावना छैन’, मौसमविद् श्रेष्ठले भने।

नेपालमा सामान्यतयाः डिसेम्बर १ देखि फेब्रुअरी अन्तिमसम्मको अवधिलाई जाडो मौसम मानिन्छ । काठमाडौं उपत्यकामा बिहानीपख हल्का हुस्सु-कुहिरो लाग्ने गरेकाले पछिल्ला दिनमा बढी चिसो महशुस गरिएको छ । बिहान केही समय कुहिरो लागे पनि एकदेखि दुई घण्टामा उक्त कुहिरो हटेर पारिलो घाम लाग्ने गरेको छ । दिनभर घाम लाग्ने र रातमा आकाश खुला हुने भएकाले पनि चिसो बढिरहेको मौसमविदको भनाइ छ ।