जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तारा आचार्यको “बिक्रीमा राखिएको भोट”

मेरो एक भोट बेच्दै छु
किन्ने उमेदवार खोज्दै छु
चुनाव तिमीले जित्छौ
हार मैले भोग्दै छु

तिमीलाई भाषण सिक्नु छ
ठूला ठूला आश्वासन दिनु छ
जनता भोकले मरुन की रोगले
तिमीले चुनाव जित्नु छ

मलाई छाक टार्नु छ
परिवारको भोक मार्नु छ
चुनाव जितेर गद्दीमा विराजमान हुन्छौं तिमी
मलाई दिउँसै तारा झार्नु छ
परिवारको भोक टार्नु छ
त्यसैले त भन्छु महोदय
मैले मेरो एक अमूल्य भोट बेच्नु छ

तिमीलाई नामले प्रख्यात हुनु छ
मलाई विकास गर्ने नेता चुन्नु छ
तिमी समाज बदल्ने कुरा गर्छौ
मलाई सोच बदल्ने नेता छान्नु छ
तिमीलाई मात्र तिम्रो चिन्ता
मलाई परिवारको जिम्मवरी धान्नु छ

तिमी आज विकासका कुरा गर्छौं
बाटो पिच र रोजगारीका कुरा गर्छौ
म भोको देख्छु
गरीब देख्छु अनि गरिबी देख्छु
विदेशीएको जवान देख्छु
मरुभूमि देख्छु
रेमिट्यान्स देख्छु
भ्रष्टाचार अनि भ्रष्टाचारी देख्छु
अनि भरिएर आएको बाकस देख्छु
उफ….
हेराइ फरक छ नी महोदय भोगाइ फरक छ
त्यसैले त हेराइ बदल्नु छ सोच बदल्नु छ
मेरो अमूल्य एक भोट बेच्नु छ

तिमी भ्रष्टचारी नियन्त्रणका कुरा गर्छौ
देशको काचुली फेर्ने कुरा गर्छौं
नीतिका कुरा गर्छौ
कानुनका कुरा गर्छौ
विधानका कुरा गर्छौं
संविधानका कुरा गर्छौं
म त मात्र नियति देख्छु

हाम्रो हेराइ फरक छ
हाम्रो सोचाइ फरक छ
त्यसैले एक भोट बेच्दैछु
एउटा दलाल खोग्दै छु
बिक्रीमा राखेकी छु
मेरो भोट बेच्दै छु
🙏🙏।।।।।।।।।🙏🙏