जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

टिकटक बनाउने क्रममा सेती खोँचमा पसेकी तनहुँकी १९ वर्षिया पवित्रा लम्साल बेपत्ता ( भिडियो सहित )

तनहुँको शुक्लागण्डकीस्थित रकगार्डेनमा टिकटक बनाउने क्रममा सेती खोँचमा पसेकी युवतीको अवस्था अझै अज्ञात छ । वडा नं. ४ र ८ को सीमामा रहेको रकगार्डेन क्षेत्रमा तस्बिर खिच्ने र टिकटिक बनाउने क्रममा शुक्लागण्डकी वडा नं. ८ की १९ वर्षिया पवित्रा लम्साल खसेर बेपत्ता भइन् ।

तीन जना साथीहरुसँग मिलेर उनीहरु सेतीको किनार रकगार्डेन गएका थिए । घटना मंगलबार दिउँसो २ बजेतिरको हो । पक्की पुल र झोलुङ्गे पुलकोबीचबाट ती युवत्ती खसेर बेपत्ता भएको प्रहरीको भनाई छ ।

बेपत्ता पवित्राको केहि दिनअघि मात्र विवाह भएको बताइएको छ । ५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् ।जानकारका अनुसार उनको यही भदौ २६ गते भिमादको किहूँका सिग्देल थरका युवकसँग विवाह भएको हो । स्याङ्गजा जिल्ला हरिनाश गाउँपालिका घर भइ शुक्लागण्डकी नगरपालिका वडा नं ८ लालिमस्थित काकाकाकीसँग बस्दै आएकी थिइन् ।

पवित्रा नदिमा पसेको भिडियो पनि सार्वजनिक भएको छ । सेती खोचमा पसिरहँदा साथीहरु चिच्याई चिच्याई तल नजान रोकिरहेका छन् । ‘कस्तो हो के तिमी… पवित्रा… लान्छ के ओई…’ भनेको स्पष्ट सुनिएको छ । नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।

जानकारी पाए लगत्तै प्रहरीले सेती नदी छेउछाउमा खोजी कार्य जारी राखेपनि फेला पार्न नसकिएको र बुधबार बिहानैदेखि पुनः खोजी कार्य गरिने प्रहरीले जनाएको छ । भिमाद क्षेत्रमा पनि प्रहरीलाई परिचालन गरिएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।