जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जेठमा सञ्चालन हुने एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

जन्मभुमि खबर
काठमाडौँ, फागुन २४ गते । आगामी जेठमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा जुटेका विद्यार्थीले तोकिएअनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रम अध्ययन गरी विद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने जानकारी सम्बद्ध अधिकारीले दिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका एसईईतर्फका परीक्षा नियन्त्रक रामराज खकुरेलले विद्यार्थीले कक्षा १० मा अध्ययन गर्नुपर्ने भनी तय गरिएको पाठ्यक्रममा सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रमबाट प्रश्नसमेत आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले पढाउने कुराको सहजताका लागि कुन विद्यार्थी स्वअध्ययन गर्ने र कुन शिक्षकले पढाउने भन्ने हिसाबले सङ्क्षेपीकरण गरिएको हो, परीक्षाका लागि होइन ।” विद्यार्थीले सबै पाठ्यक्रमबाट प्रश्नपत्र आउन सक्छ भन्ने हिसाबले परीक्षाको तयारी अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
पढाउने कुराको सहज व्यवस्थापनका लागि मात्र कोरोना भाइरसको सङ्क्रमणको अवधिमा पाठ्यक्रमा सङ्क्षेपीकरण गरिएको भए पनि त्यसले परीक्षामा कुनै असर नगर्ने उहाँले स्पष्ट गर्नुभयो । यसका साथै विगतका वर्षहरूमा जसरी परीक्षा सञ्चालन गरिएको थियो, त्यसकै आधारमा परीक्षाको कार्यक्रम अघि बढ्ने बोर्डले स्पष्ट गरेको छ । गत वर्ष विद्यालयले नै गरेको अन्तिम आन्तरिक मूल्याङ्कन आधारमा एसईईका विद्यार्थीको नतिजा सार्वजनिक गरिएको थियो । सरकारी अधिकारीले यसलाई अपवाद भनेका छन् ।
परीक्षा नियन्त्रक खकुरेलले विगतमा जस्तै एक सय पूर्णाङ्ककै परीक्षा सञ्चालन हुने जानकारी दिनुभयो । प्रयोगात्मक हुने विषयको हकमा भने ७५ अङ्कको परीक्षा र २५ अङ्कको प्रयोगात्मक परीक्षा हुने जनाइएको छ ।