जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गोरखाको बारपाकमा अक्सिजन मिनिप्लान्ट जडान

गोरखाको बारपाकमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको छ ।

करिब ११ सय ५० घर रहेको बारपाकमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा अक्सिजन मिनिप्लान्ट जडान गरिएको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए ।

केन्द्रको सहयोगमा ७० लिटर क्षमताको मिनिप्लान्ट निर्माण सम्पन्न भएको उनले बताए । केन्द्रका इन्जिनियर रितेश देव नेतृत्वको टोलीले जडान सम्पन्न गरेको उक्त मिनिप्लान्ट वडा कार्यालयलाई हस्तारण समेत भएको वडाध्यक्ष गुरुङको भनाई छ ।

बारपाक स्वास्थ्य चौकी नजिकै रहेको स्थानीय महिला समूहको भवनमा जडान गरिएको अक्सिजन प्लान्ट एकैपटकमा १२ जना बिरामीलाई अक्सिजन दिन मिल्ने उनले बताए ।

महिला समूहको भवनमा १२ शय्याको आइसोलेसन समेत निर्माण गरिएको छ, त्यही शय्यामा अक्सिजन समेत जडान गरिएको हो’, वडाध्यक्ष गुरुङले भने ।

अक्सिजन मिनिप्लान्ट जडान तथा उपकरण खर्च केन्द्रले नै व्यहोरोको हो । वडाध्यक्ष गुरुङले अहिले सञ्चालनमा रहेको आइसोलेसनलाई १२ शैयाको अस्पतालको रुपमा विकास गर्ने तयारी भइरहेको बताए ।